हुम्ला । नाम्खा गाउँपालिका–६ स्थित लिमीको लाप्चा क्षेत्रमा खानेपानीको चरम अभाव भएको गुनासो आएको छ । समुद्री सतहबाट झन्डै पाँच हजार मिटर उचाइमा अवस्थित यो स्थानबाट मानसरोवर र कैलाश पर्वतको स्पष्ट दर्शन गर्न सकिने भएकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। तर खानेपानीको पर्याप्त व्यवस्था नहुँदा पर्यटकहरू गम्भीर समस्यामा परिरहेका छन् ।
धार्मिक तथा पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिने लाप्चामा अन्य पूर्वाधार निर्माण भए पनि खानेपानीजस्तो आधारभूत आवश्यकता अझै अपूरो रहेको छ। हालै लाप्चा पुगेर मानसरोवर दर्शन गरेका रामजन रावतले खानेपानी अभावका कारण पर्यटकहरूलाई असहज भएको बताए ।
मानसरोवरको दर्शन गर्न आउने पर्यटकहरूलाई खानेपानी बोकेर जानुपर्ने बाध्यता छ,रावतले भने, तुम्लिङबाट कम्तीमा पाँच लिटर पानी बोकेर जानुपर्छ, जुन दुर्गम भेगमा कठिन विषय हो ।
त्यसैगरी, लाप्चा क्षेत्रको भ्रमणमा गएका दन्त शाहीको टोली पनि खानेपानी अभावले हैरान भयो। हामीलाई पूर्वजानकारी नभएर पानी नबोकेका थियौं,शाहीले बताए । लाप्चा पुगेपछि पानी नपाएर निकै अप्ठ्यारो भयो।
विगतमा पशुपालकबाहेक कोही नजाने यो स्थानमा पछिल्ला सात वर्षयता पर्यटकहरूको उल्लेख्य आगमन हुने गरेको छ। वर्षमा करिब १ हजार ५ भन्दा बढी आन्तरिक तथा विदेशी पर्यटक लाप्चा पुग्ने गरेका छन् । तर, सबैले साझा रूपमा भोग्ने मुख्य समस्या भनेको खानेपानीकै अभाव हो ।
लिमी वडाका अध्यक्ष पाल्जोर तामाङले खानेपानीको समस्या रहेको स्वीकार गर्दै स्रोतको खोजी भइरहेको बताए । हालसम्म पानीको स्रोत पत्ता लगाउन सकिएको छैन, उनले भने, स्रोत पत्ता लागेपछि खानेपानी व्यवस्थापनका लागि लगानी जुटाउने प्रयास गरिनेछ।
नेपाल पर्यटन बोर्डको सहयोगमा आर्थिक वर्ष २०८१/८२ मा लाप्चा क्षेत्रमा विभिन्न संरचनाहरू निर्माण गरिएको छ । दृश्यावलोकन कक्षमा सिसा राखिएको झ्याल, शौचालय, पाँचवटा डस्टबिन चारवटा फोहोर जलाउने खाल्डो र दुईवटा स्तुपा निर्माण सम्पन्न भएको भए पनि खानेपानीको जस्तो आधारभूत सेवाको अभाव कायमै छ।











नेपालीरैबार । २०८२ श्रावण १५, बिहीबार