‘रेलको बाटो’ फिल्म : कर्णालीको दर्दलाई पर्दामा बोलाउने कथा

सुर्खेत ।  कर्णाली क्षेत्रको सामाजिक, राजनीतिक र विकाससम्बन्धी यथार्थतालाई पर्दामा उतार्ने उद्देश्यसहित नयाँ नेपाली चलचित्र ‘रेलको बाटो’ निर्माण हुने भएको छ । कस्तुरी प्रोडक्सन प्रालिको निर्माण तथा रेड अम्ब्रेला इन्टरटेनमेन्टको सहकार्यमा बन्ने फिल्मको निर्देशन लक्ष्मण सुनारले गर्नेछन् ।

फिल्मको औपचारिक घोषणा गर्दै निर्माण टिमले कथानक झल्किने पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरमा गाउँपालिका भवन उद्घाटन लेखिएको गेटमुनि “प्रधानमन्त्रीज्यूलाई स्वागत छ, भन्ने ठूला ब्यानर झुन्डिएको दृश्य देखिन्छ, जसले कर्णालीलाई ‘दर्शनीय प्रयोगशाला’ मात्र बनाइएको हो कि भन्ने गम्भीर प्रश्न उठाउने प्रयास गरेको छ ।

पोस्टरको अर्को आकर्षक पक्ष भनेको लैजा तेरो सिंहदरबार मलाई मेरो गाउँ फिर्ता दे, भन्ने भावनात्मक वाक्य हो, जसले राज्यको बेवास्ता र जनताको गहिरो पीडा दर्शाउँछ ।

फिल्मका कार्यकारी निर्माता नगेन्द्र घिमिरे रहेका छन् भने वितरण अधिकार काफिया फिल्म्सले लिएको छ । सुरज पण्डितको संगीत, निसाल पौडेलको छायांकन तथा राकेश दाहालद्वारा डिजाइन गरिएको पोस्टरमार्फत फिल्मको सन्देश प्रष्ट पारिएको छ ।

निर्देशक सुनारका अनुसार, चलचित्रमा सामान्य नागरिकको संघर्ष, श्रीमान्–श्रीमतीको सम्बन्ध, स्वास्थ्य तथा शिक्षा अभाव, कर्णालीमा देखिने पूर्वाधार समस्याहरू र राजनीतिक उपेक्षाजस्ता विषयहरूलाई मुख्य कथावस्तु बनाइएको छ ।

फिल्मको छायांकन २०८२ सालको अन्त्यतिर कर्णालीका विभिन्न जिल्लामा हुने र २०८३ सालमा प्रदर्शनमा ल्याउने योजना रहेको निर्माण टिमले जानकारी दिएको छ। पटकथा अन्तिम चरणमा पुगेको छ भने कलाकार चयन प्रक्रिया चाँडै सार्वजनिक गरिनेछ ।

यसअघि सोही शीर्षकमा निर्माण गरिएको म्युजिक भिडियोले सामाजिक सन्देशका कारण चर्चा पाएको थियो । फिल्म निर्माण टिमका अनुसार चलचित्र ‘रेलको बाटो’ ले अब त्यो संगीतको मर्मलाई अझ गहिरो कथा र दृश्यभाषामार्फत विस्तार गर्नेछ ।

तपाईको प्रतिक्रिया