सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघको १५ औं कार्यसमितिले आफ्नो कार्यकालको पहिलो सय दिन पुरा गरेको छ । हर्षविक्रम खड्काको अध्यक्षतामा निर्वाचित २४ सदस्यीय कार्यसमितिले पदभार ग्रहण गरेसँगै नयाँ उत्साह र प्रतिबद्धताका साथ संघका गतिविधिहरु अघि बढाएको छ ।
परम्परागत रूपमा हुने विजय यात्रा र बजार परिक्रमा परित्याग गर्दै, यसपटक कार्यसमितिले व्यवसायीहरूको घरदैलोमै पुगेर धन्यवाद ज्ञापन गर्दै संघलाई सबैका लागि साझा संस्था बनाउने अठोट लिएको छ । कार्यकालको प्रारम्भिक सय दिनमा संघले व्यवसायीहरूको हित, व्यवसायमैत्री नीति निर्माण र विभिन्न संस्थासँग समन्वयात्मक प्रयासमार्फत उल्लेखनीय गतिविधिहरु सम्पन्न गरेको छ ।
भिसिटिएस बिल सम्बन्धी नयाँ सरकारी निर्णय पछिको अन्योललाई चिर्दै संघले अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न गरेको छ । सडक किनारमा अव्यबस्थीत व्यापार गरिरहेका साना व्यवसायीलाई व्यवस्थित बनाउन वीरेन्द्रनगर नगरपालिकासँग समन्वय गरिएको छ, भने व्यवसायिक कर सम्बन्धी व्यवस्थामा सुधार ल्याउन माग गरिएको छ । साथै, औद्योगिक नीति २०८२, कर प्रणाली, विद्युत आपूर्ति र निजी क्षेत्रमैत्री कार्यक्रमहरू समावेश गराउन संघले विभिन्न मन्त्रालय, निकायहरूसँग ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाबाट व्यवसायिक करमा सहुलियत तथा निजी क्षेत्र प्रवद्र्धनसम्बन्धी नीति पारित भएको छ ।
संघले पूर्व अध्यक्षहरुलाई सल्लाहकार समितिमा मनोनयन गरेर संस्थागत सुदृढिकरणमा समेत जोड दिएको छ । महिला उद्यमशीलता सहायता कक्ष स्थापना, महिला उद्यमीहरूसँगको अन्तरक्रिया, जर्मन सहयोगमा सिप विकासबारे छलफल, कर शिक्षा तथा अनलाइन व्यापार सम्बन्धी कार्यक्रम संघको सक्रियताको संकेत हो ।
नेपाल जडिबुटी व्यवसायी संघसँगको सहकार्यमा जडिबुटी प्रशोधन केन्द्र संचालनका लागि छलफल, सिमावर्ती क्षेत्रमा १३२ केभी प्रशारण लाइन विस्तारमा अवरोध हटाउन गरिएको स्थल अनुगमन र बन मन्त्रालयलाई बुझाइएको ज्ञापनपत्र संघको दीर्घकालीन पूर्वाधार योजनामा प्रतिबद्धता दर्शाउँछ । यस्तै संघलाई मजबुत बनाउन उपमहासचिवको संयोकत्वमा प्रकाशन समिति, पर्यटन प्रबद्र्धन समिति र सूचना प्रबिधि समिति पनि बिस्तार गरिएको छ । यसले संघका गतिविधिमा उल्लेख्य योगदान गर्ने छ ।
सामाजिक उत्तरदायित्व र वातावरणीय सरोकार
डिभिजन बन कार्यालयसँगको सहकार्यमा सरस्वती माविमा वृक्षारोपण कार्यक्रम, कर्णालीको पर्यटन विकासबारे नेपाल पर्यटन बोर्डमा सुझाव पेश, र स्थानीय उद्यमीहरूसँगको नियमित संवाद संघको दायित्वप्रति सचेत सोच झल्काउँछ ।
नेतृत्वको प्रतिबद्धता
संघका अध्यक्ष हर्षविक्रम खड्काले तीन महिनाको छोटो अवधिमा संघले लिएका पहल र योजनाहरु आगामी दिनमा अझ प्रभावकारी रुपमा अघि बढाइने बताएका छन् । संघ उद्यमी व्यवसायीहरुको हकहितका लागि निरन्तर सहयात्री बन्नेछ, अध्यक्ष खड्काले भने, पहिलो सय दिनले देखाएको उत्साह हाम्रो कार्यकालभर कायम रहनेछ ।
















नेपालीरैबार । २०८२ श्रावण १९, सोमबार