सुर्खेत । उद्योग प्रतिष्ठानहरूमा गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्ने विषयमा सरोकारवाला पक्षहरू सकारात्मक देखिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौं र कर्णाली प्रदेश समितिको संयुक्त आयोजनामा सञ्चालित ‘सशक्त महिला समृद्ध नेपाल’ कार्यक्रम अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरमा दुई दिनसम्म तालिम सम्पन्न भएको छ ।
तालिमको उद्देश्य संस्थागत तहमा गुनासो सुनुवाइ संयन्त्र (Grievance Handling Mechanism) स्थापना गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने तथा संयन्त्रलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहभागीहरूलाई उत्प्रेरित गर्नु रहेको थियो ।
उक्त तालिममा कर्णाली प्रदेश सरकार, स्थानीय तह, उद्योग प्रतिष्ठान, श्रमिक संघ, महिला तथा मानव अधिकारकर्मी, सञ्चारकर्मी र अन्य सरोकारवाला निकायका ३० जना प्रतिनिधिको सहभागिता थियो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले कार्यस्थलमा हुने हिंसा र दुर्व्यवहारलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिए । सुरक्षित कार्य वातावरण प्रत्येक श्रमिकको आधारभूत अधिकार हो । गुनासो सुनुवाइ संयन्त्रको स्थापना केवल औपचारिक प्रक्रिया होइन, यो सम्मानजनक र उत्तरदायी कार्यस्थलको आधार हो, उनले भने ।
शाहीले राज्य, निजी क्षेत्र र श्रमिकबीच समन्वयमा यस्तो संयन्त्रको स्थापनाले दीगो आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । तालिमकी सहजकर्ता शर्मिला श्रेष्ठले कार्यस्थलमा हुनसक्ने यौन उत्पीडन, मनोवैज्ञानिक दबाब, भेदभावलगायत हिंसाका स्वरूपबारे जानकारी दिँदै गुनासो संकलन, समाधान प्रक्रिया, संवेदनशीलता र गोपनीयताको महत्वबारे सहभागीहरूसँग संवाद गरिन् । समूह कार्य र अभ्यास सत्रमार्फत विषयवस्तुलाई व्यवहारिक ढंगले प्रस्तुत गरिएको थियो ।
सहभागीहरूले तालिमबाट कार्यस्थलमा सुरक्षित, न्यायपूर्ण र लैङ्गिक समावेशी वातावरण निर्माणका लागि आवश्यक ज्ञान, सीप र व्यवहारिक उपायहरू सिक्न पाएको प्रतिक्रिया दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, काठमाडौंका सहायक निर्देशक हरि पौडेल र राष्ट्रिय कार्यक्रम संयोजक कृपा बस्नेतले सहभागीहरूलाई गुनासो सुनुवाइ संयन्त्र स्थापना तथा सञ्चालनमा प्रेरित गर्दै यस्तो संयन्त्रले कार्यस्थललाई सुरक्षित, उत्तरदायी र समावेशी बनाउन महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरे ।











नेपालीरैबार । २०८२ श्रावण २१, बुधबार