सुर्खेत । स्थानीय व्यवसायको सुरक्षा र स्थायित्वलाई प्रोत्साहन गर्ने उद्देश्यसहित सुर्खेत उद्योग वाणिज्य संघले आगलागीका कारण क्षति व्यहोर्नु परेका व्यवसायी सदस्यहरूलाई राहत प्रदान गरेको छ । संघले व्यवसायी राहत अक्षय कोष मार्फत वीरेन्द्रनगर–६ मा रहेका पाँच जना सदस्य व्यवसायीहरूलाई जनही २५ हजार रूपैयाँ राहत स्वरूप उपलब्ध गराएको हो ।
संघका अनुसार विभिन्न मितिमा विविध कारणवश आगलागी भएर धनमालमा क्षति पुगेका निम्न व्यवसायीरफर्महरूलाई सो राहत प्रदान गरिएको छ । होटल सुमेरू, न्यू सनम घडी रेडियो पसल,रावत कस्मेटिक स्टोर्स,राजन साइकल स्टोर्स,बी.सी. शपिंगलाई राहत स्वरूप उपलब्ध गराएको हो ।
संघले विपद्मा परेका व्यवसायीलाई तत्काल राहत पुर्याउने उद्देश्यले स्थापना गरेको व्यवसायी राहत अक्षय कोष सक्रिय रूपमा परिचालन गर्दै आएको छ । यस प्रकारको सहायताले व्यवसायीहरूमा आत्मबल बढाउने र आर्थिक क्षतिको केही हदसम्म पूर्ति गर्न सकिने अपेक्षा गरिएको संघका अध्यक्ष हर्षविक्रम खड्काले बताएका छन् ।
खड्काका अनुसार यस्ता सहयोगले नाफा–नोक्सानको जोखिम व्यहोर्ने व्यवसायी वर्गप्रति संस्थागत जिम्मेवारीबोध र सहानुभूतिपूर्ण व्यवहार देखाउँछ । साथै, यसबाट आगामी दिनमा जोखिम व्यवस्थापन र व्यवसाय सुरक्षा योजनाप्रति पनि ध्यान जानुपर्ने सन्देश गएको छ । संघले भविष्यमा पनि विपद्का अवस्थामा व्यवसायीलाई राहत दिन सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।











नेपालीरैबार । २०८२ श्रावण २२, बिहीबार