सुर्खेत । आर्थिक वर्ष २०८१/८२ मा कर्णाली प्रदेशबाट ३ सय ६५ मेट्रिक टन सुकाइएको अदुवा र बेसार युरोपेली मुलुकमा निर्यात भएको छ । प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत पूर्णबहादुर थापाका अनुसार उच्च गुणस्तरीय अदुवा र बेसारलाई सुकाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रमाणीकरण गरी जर्मनी पठाउन थालिएको हो ।
सल्ल्यान, रुकुमपश्चिम र सुर्खेतको पूर्वी क्षेत्रमा उत्पादित अदुवा–बेसारलाई सुर्खेतको छिन्चुमा रहेको द अर्ग्यानिक भ्याली कम्पनीले संकलन गर्दै जर्मनीलगायत अन्य मुलुकमा निर्यात गर्दै आएको छ ।
कम्पनीले मकैको पीठो, दाल, सिमी, घिउ र सिस्नुको धुलो जस्ता अन्य अर्ग्यानिक उत्पादन पनि प्रमाणीकरण गरी विदेश पठाउँदै आएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार प्रदेश स्थापनादेखि हालसम्म कृषि क्षेत्रमा १८ अर्ब ४७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकामा १४ अर्ब रुपैयाँ बराबरको रकम लगानी भइसकेको छ । चालु आवमा साना सिँचाइ निर्माण तथा मर्मतसम्भार अन्तर्गत ७ सय ४७ वटा योजना कार्यान्वयन भएका छन् ।
गत वर्ष १९ हेक्टरमा ४ हजार ४४ स्याउका बिरुवा र २५ हेक्टरमा २ हजार ८ सय २४ ओखरका बिरुवा रोपिएका छन्। त्यस्तै, २० हजार १ सय सुन्तला, १५ हजार ४ सय कागती, २ हजार ओखर र १ हजार स्याउका बिरुवा पनि लगाइएका छन् ।
खाद्य सुरक्षा कार्यक्रमअन्तर्गत थप १० हजार स्याउ, १ हजार ९ सय ५० ओखर, ३ हजार २ सय ७० सुन्तला र २ हजार लिचीका बिरुवा रोपिएको छ। कृषि प्रसार कार्यक्रममार्फत उन्नत जातका २१ क्विन्टल धान र २२ क्विन्टल अन्य अन्नबालीका बीउ वितरण गरिएको छ । उक्त वर्ष २१.२९ मेट्रिक टन तरकारीका बीउ पनि प्रमाणीकरण गरिएका छन् ।










नेपालीरैबार । २०८२ श्रावण ३०, शुक्रबार