सुर्खेत । सुरक्षित प्रसूति सेवाको विस्तार भए पनि कर्णाली प्रदेशमा मातृशिशु मृत्युदर उच्च नै छ । बर्सेनि सुत्केरी आमा र नवजात शिशुको ज्यान जाने अवस्था यथावत् रहँदै आएको छ । अत्यधिक रक्तस्राव, इम्बोलिज्म, पाठेघर फुट्ने, गर्भावस्थामा हुने स्वास्थ्य जटिलता जस्ता कारणले धेरै महिलाले जीवन गुमाइरहेका छन् ।
स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको भए पनि उपचारको अभाव र ढिलाइले ज्यान गुमाउनेको संख्या घटेको छैन । अस्पताल समयमै पुग्न नसक्दा कैयौं महिलाले बाटोमै ज्यान गुमाइरहेका छन् । विशेषगरी ग्रामीण भेगका स्वास्थ्य संस्थामा दक्ष जनशक्ति र आवश्यक उपकरणको कमीले प्रसूति सेवा अझै प्रभावकारी बन्न सकेको छैन भन्ने गुनासो छ ।
मातृशिशु मृत्युदर कम गर्न सरकारी तथा गैरसरकारी तहबाट प्रयास भइरहे पनि उल्लेख्य सुधार आउन सकेको छैन । सरकारले स्वास्थ्य चौकीमा सुत्केरी हुने महिलालाई प्रोत्साहन भत्ता दिए पनि अझै ठूलो संख्याले अस्पताल धाउने गरेका छैनन् । सरकारी तथ्याङ्कअनुसार कर्णालीमा ६५ प्रतिशत महिलाले मात्र स्वास्थ्य संस्थामा सुरक्षित प्रसूति गर्छन् भने बाँकी ३५ प्रतिशत महिलाले अझै पनि घरमै असुरक्षित तरिकाले बच्चा जन्माइरहेका छन् । हाल प्रदेशभर ३१८ वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले हालै सार्वजनिक गरेको प्रतिवेदनमा महिलाको स्वास्थ्य र सामाजिक अवस्थाको गम्भीर चित्र प्रस्तुत गरिएको छ। मन्त्री घनश्याम भण्डारीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार कर्णालीमा मातृ मृत्युदर प्रतिलाखमा १ सय ७२ रहेको छ, जुन निकै उच्च हो ।
अझै पनि हरेक तीनमध्ये एक महिलाले स्वास्थ्य संस्थाको पहुँच बाहिर घरमै सुत्केरी हुने गरेको तथ्याङ्कमा उल्लेख छ । यस भयावह अवस्थालाई ध्यानमा राख्दै सरकारले ‘घरमा सुत्केरी शून्य’ (पूर्ण संस्थागत प्रसूति) अभियान सञ्चालन गर्ने घोषणा गरेको छ । यसका लागि चालु वर्षमा ४५ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
बालविवाह अझै ठूलो समस्या
कर्णालीको अर्को चुनौती बालविवाह हो । मन्त्रालयको तथ्याङ्कअनुसार यहाँका ३७.९ प्रतिशत युवतीले १८ देखि २० वर्षमै विवाह गर्ने गरेका छन् । तर कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने व्यवस्था गरेको छ । कम उमेरमा हुने विवाह र गर्भधारणका कारण मातृमृत्यु, गर्भपतन र नवजात शिशु मृत्युदर बढिरहेको मन्त्रालयको प्रतिवेदनले देखाएको छ । हाल प्रदेशमा प्रतिहजार जीवित जन्ममा ३८ बाल मृत्युदर रहेको छ ।










नेपालीरैबार । २०८२ भाद्र १, आईतवार