दैलेख । दैलेखको छामघाटमा २८ वर्षीय सुरेन्द्रबहादुर शाही मृत फेला परेको २२ दिन बितिसक्दा पनि घटनाको सत्यतथ्य खुल्न सकेको छैन । दैलेखको चामुण्डाबिन्द्रासैनी–६ घर भएका शाही साउन ११ गते बिहान दुल्लु नगरपालिका–११, कयलकुनास्थित छामघाट खोलाको किनारमा मृत अवस्थामा भेटिएका थिए ।
शव फेला परेको भोलिपल्ट (साउन १२ गते) प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । तर सुरेन्द्रको मृत्यु हत्या हो वा आत्महत्या भन्ने यकिन नखुलेको प्रहरीले जनाएको छ । पारिवारिक स्रोतका अनुसार नियन्त्रणमा लिएकी युवतीले पटक–पटक बयान फेरेकी छन् । मलेसियामा रोजगारी गर्दै आएका शाही ३३ महिनापछि गत असार ३२ गते नेपाल फर्किएका थिए । तर, घर पुग्नै नपाउँदै बाटोमा शव फेला परेको थियो ।
आफन्तको दबाब
सुरेन्द्रका आफन्तहरूले शुक्रबार दैलेख बजारमा शान्तिपूर्ण धर्ना र ¥याली निकाल्दै प्रशासनको ध्यानाकर्षण गराएका छन् । उनका पिता झक्कबहादुर शाहीले यो ‘सुनियोजित र रहस्यमय हत्या’ भएको दाबी गर्दै दोषीलाई तत्काल कानूनी कारबाहीमा ल्याउन माग गरे । त्यस्तै दाइ दीपक शाहीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै घटनामा संलग्नलाई कारबाहीको माग गरेका छन् । उनले पोष्टमार्टम रिपोर्टमै हत्या भएको स्पष्ट भएको दाबी गर्दै प्रहरीसँगै रिपोर्ट समेत रहेको बताए ।
दैलेखका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेका अनुसार सुरेन्द्रका आफन्तले घटनाबारे लिखित निवेदन दिएका छन् । उनले भने, “प्रहरीले एक जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । आवश्यक परे अरुलाई पनि सोधपुछ भइरहेको छ । कल रेकर्डसमेत जाँच भइरहेको छ ।”
उनका अनुसार अनुसन्धानका लागि पक्राउ परेका व्यक्तिलाई अधिकतम २५ दिनसम्म हिरासतमा राख्न सकिन्छ । उनले थपे, “आवश्यक परे मुद्दा सरकारी वकिलमार्फत अदालतमा पेस गरेर पुनः थप अनुसन्धानका लागि अनुमति लिन सकिन्छ । अहिले घटना अनुसन्धानकै चरणमा छ ।”










नेपालीरैबार । २०८२ भाद्र २, सोमबार