सुर्खेत । कर्णाली प्रदेशका कृषि र पशु प्राविधिकहरुलाई पर्यावरणीय कृषि सम्बन्धि तालिम प्रदान गरिएको छ। पर्यवरणीय कृषिको सिद्धान्त र अभ्यासहरुलाई कृषक स्तरमा कार्यान्वन गर्न सरकारी कृषि प्रसार प्राबिधिकहरुको ज्ञान, सिप र क्षमता अभिवृद्धि गर्ने उदेश्यले तालिमको आयोजना गरिएको हो। साउन २५ देखि ३० गतेसम्म सम्म चलेको पर्यवारणीय कृषि तथा अभ्यासहरु सम्बन्धि तालिम कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन तालिम केन्द्र कर्णाली प्रदेश र ली-बर्ड-पोखराको संयुक्त आर्थिक तथा प्राविधिक साझेदारीमा संचालन भएको थियो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कर्णाली प्रदेशका सचिव परशुराम रावतबाट उद्घाटन भएको उक्त तालिममा कर्णाली प्रदेशका १० जिल्लाबाट प्रदेश र स्थानीय तहमा कार्यरत २५ जना कृषि र पशु सेवा प्राविधिकहरु सहभागी थिए। तालिममा पर्यावरणीय कृषिका वातावारणीय, सामाजिक र आर्थिक पाटोहरुका साथै यसका सैद्धान्तिक र व्यावहारिक पक्षहरुमा सुष्म रुपमा छलफल भएको छ।
तालिममा पर्यावरणीय कृषिका सिदान्तहरु, कृषि जैविक विविधता विश्लेषण र औजार, जैविक स्रोतमार्फत पोषण व्यवस्थापन, रोग(कीरा नियन्त्रणका जैविक तरिका, पुनः प्रयोग र खेति प्रणाली पशु व्यवस्थापन र प्रजनन व्यवस्थापन, परागसेचक ब्यबस्थापन, तथा जैविक प्रमाणिकरण र बजार प्रवर्द्धनबारे सत्रहरू ली-बर्ड र मन्त्रालयका विज्ञ प्रशिक्षकद्वारा प्रशिक्षण गरिएको थियो।
तालिमको दोश्रो र तेस्रो दिनमा सहभागीहरूले समुदाय र फर्म स्तरको अवस्था तथा समस्या मुल्यांकन गरि उपयुक्त ब्यवस्थापनको विधी र अभ्यासहरुसहितको कार्ययोजना तयार परेका थिए। तालिममा छलफल गरिएका बिषय बस्तु र प्रशिक्षण विधि प्रभावकारी रहेकोले समग्रमा तालिम अत्यन्तै उपयोगी, ज्ञानवर्धक र व्यवहारिक भएको प्रतिक्रिया सहभागीले दिएका छन्।
फरक(फरक सेवा क्षेत्र (कृषि, पशु, वन) बाट सहभागिता रहेको र दिगो खाद्य उत्पादन प्रणालीका लागि कृषि, पशु र वन क्षेत्रले एकीकृत रुपमा काम गर्नु पर्ने भएकाले साझा बुझाई र सहकार्य विकास गर्न तालिम फलदायी रहेको सहभागीहरुको भनाइ छ। यस्तै, तालिमका अन्त्यमा सबै सहभागीहरूलाई आफ्नो कार्यक्षेत्रमा कृषि पारिस्थितिकीलाई एकीकृत गर्दै “सहभागितामूलक समुदाय योजना” तयार गरिएको थियो ।
कार्यक्रमको समापन समारोहमा बोल्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव परशुराम रावतले तालिम कर्णाली प्रदेशका लागि आवश्यक र सान्दर्भिक भएकाले खुसी व्यक्त गर्दै तालिम सञ्चालनका लागि साझेदारी गर्ने ली(बर्डलाई धन्यवाद ज्ञापन गरे । यस्तै, ली-बर्ड, कर्णाली प्रदेश संयोजक बुद्ध वि.कले रणनैतिक साझेदारको रुपमा प्रदेशको नीति तथा कार्यक्रमहरुलाई सहयोग गर्न परियोजना र कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी गराउँदै कर्णाली प्रदेशमै पहिलो पटक सरकारी निकाय र गैरसरकारी संस्थाको साझेदारीमा सञ्चालन भएको यस तालिम सहकार्य र समन्वयको यो उत्कृष्ट उदाहरण रहेको उल्लेख गरे।
यस्तै, कृषि तथा पशुपालन व्यवसाय प्रवर्धन प्रशिक्षण केन्द्रका प्रमुख धनबहादुर कठायतले मन्त्रालय र विकास साझेदारसंग रहेको विज्ञता र स्रोतहरु प्रदेशको लक्ष्य र उदेश्य प्राप्त गर्ने समुचित परिचालन गर्न आवश्यक सहजीकरण र वातावरण प्रदान गरिरहेको बताउँदै सयुक्त प्रयासबाट साबिक भन्दा बढी परिणाम हासिल गर्न सकिने बताए ।










नेपालीरैबार । २०८२ भाद्र २, सोमबार