कर्णालीकाे सत्ता समीकरण : मुख्यमन्त्री कंडेल र कांग्रेस नेता शाहीबीच निरन्तर जुहारी

सुर्खेत । कर्णाली प्रदेशमा सत्ता समीकरण फेरि विवादको केन्द्र बनेको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको प्रारम्भिक सहमति अनुसार आधा–आधा कार्यकाल मुख्यमन्त्री पद बाँड्ने लिखित सम्झौता भए पनि राजनीतिक परिस्थितिले नयाँ मोड लिएको थियाे ।  नेकपा माओवादीसँगको गठबन्धन टुटेपछि एमाले र नेपाली कांग्रेसबीच शक्तिशाली दुई तिहाइको सरकार बनेको थियाे ।

यो समीकरण कर्णालीमा मात्र होइन, केन्द्रमा भएको राजनीतिक सहमति अनुरूप बनेको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको समझदारीपछि प्रदेशमा पनि एमाले–कांग्रेसको टाउको जोडिएको थियो । तर जोडिएको टाउकोले स्थायित्व भन्दा बढी विवाद जन्माइरहेको छ ।

कंडेल–शाहीबीच निरन्तर खटपट

मुख्यमन्त्री यामलाल कंडेल र कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीबीच सुरुदेखि नै असमझदारी कायमै छ । दुवै नेताबीच विभिन्न विषयमा पटक–पटक वाकयुद्ध हुने गरेको छ । कहिले कार्यक्रम स्थलमै असन्तुष्टि प्रकट गर्ने, कहिले आरोप–प्रत्यारोप गर्ने क्रम जारी छ ।

बुधबार मात्रै प्रदेश स्थापना दिवस मनाएर हतारहतार काठमाण्डौँ पुगेका मुख्यमन्त्री कंडेलले नेपाली कांग्रेसका सभापति देउवाको निवास बुढानीलकण्ठ पुगेर कर्णाली प्रदेश सरकारका काम, सुशासन, विकास र समृद्धिका विषयमा छलफल गरेका थिए । उनले सामाजिक सञ्जालमार्फत देउवाप्रति आभार प्रकट गर्दै ‘महत्वपूर्ण सुझाव र मार्गदर्शन प्राप्त भएको’ बताएका थिए ।

तर सोही दिन केही समयपछि नेपाली  कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाही पनि देउवालाई भेट्न पुगेका थिए । मुख्यमन्त्री कंडेलले देउवासँग गरेको कुराकानीकै विषय देउवाले शाहीलाई जानकारी गराएपछि विवाद थप चर्किएको हो । त्यसपछि शाहीले सामाजिक सञ्जालमा प्रतिवाद गर्दै, “मलाई आजै हट, भोलि हट भनेर रिपोर्टिङ भएको देख्छु । तर म भने बिहान ११ बजे सभापतिजीसँग भेटमा थिएँ,” भनेर प्रतिक्रिया जनाएका थिए ।

आधा–आधा कार्यकालको समझदारी

पूर्व सहमति अनुसार २०८३ साल जेठसम्म मुख्यमन्त्री कंडेल रहनेछन् भने त्यसपछि कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही पुनः मुख्यमन्त्री बन्ने तयारीमा छन् । तर सत्ता सञ्चालनको तरिका र आन्तरिक अविश्वासका कारण दुवैले एकअर्काको अस्तित्व स्वीकार गर्न सकेका छैनन् । स्थानीयवासीले नेताहरूबीचको यो जुहारीले प्रदेशको विकास–निर्माण प्रभावित भएको गुनासो गर्दै आएका छन् । सुर्खेत विमानस्थल लगायतका महत्वपूर्ण परियोजना समेत अलपत्र परेको उनीहरूको आरोप छ ।

यस्तै यामलाल कंडेलपछि जीवनबहादुर शाही मुख्यमन्त्री बनेमा परिस्थिति कस्तो हुन्छ भन्ने प्रश्न आम जनचासोको विषय बनेको छ । आगामी २०८४ सालसम्म अहिलेको सत्ता समीकरण यथावत रहन्छ कि फेरि नयाँ गठबन्धन बन्छ भन्ने विषयमा  कुनै स्पष्टता भने छैन।

तपाईको प्रतिक्रिया