मुख्यमन्त्री कँडेलको अभिव्यक्ति प्रति होटल व्यवसायी संघ सुर्खेतको आपत्ति

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हालसालै दिएको “अब कुनै पनि सरकारी कार्यक्रम होटलमा नगर्ने” भन्ने अभिव्यक्तिप्रति होटल व्यवसायी संघ सुर्खेतले आपत्ति जनाएको छ । मुख्यमन्त्रीले कर्मचारीलाई समेत यस्तो निर्देशन दिएको भन्दै होटल व्यवसायीहरूले ती अभिव्यक्ति आपत्तिजनक, निरुत्साहजनक र गैरजिम्मेवारपूर्ण भएको टिप्पणी गरेका छन् ।

होटल व्यवसायी संघ सुर्खेतकी अध्यक्ष प्रतिभा वलीले विज्ञप्तिमार्फत मुख्यमन्त्रीको अभिव्यक्तिले महामारीका कारण लामो समयदेखि संकटमा परेको होटल व्यवसायलाई थप मर्कामा पार्ने काम भएकाे बताइन् । उनले कोरोनापछि व्यवसायी अझै ऋण र घाटाबाट मुक्त हुन नसकेको बेला यस्तो संवेदनशील अभिव्यक्तिले लगानीकर्ता र व्यवसायी निराश बनेको बताइन् ।

संघले मुख्यमन्त्रीलाई उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन माग गर्दै प्रदेशभित्र व्यवसायमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको छ । साथै होटल तथा पर्यटन व्यवसायलाई संरक्षण, प्रवर्द्धन र प्रोत्साहन गर्ने नीतिगत व्यवस्था मिलाउन सरकारलाई दबाब दिएको छ ।

यसैगरी संघले हाल नेपालगञ्जमार्फत मात्रै सञ्चालन हुँदै आएको कैलाश मानसरोवर हवाई यात्रालाई सुर्खेत विमानस्थलबाटै सुरु गर्ने वातावरण बनाउन सरकारसँग माग गरेको छ । यसले धार्मिक पर्यटनसँगै कर्णालीको होटल र पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने संघको विश्वास छ ।

व्यवसायीहरूले सरकारले विगतमा हवाई यातायातमा सहुलियत दिने नीति, कार्यक्रम र बजेटमा व्यवस्था गरे पनि व्यवहारमा त्यसको कार्यान्वयन नभएकाले पर्यटक आगमन घट्दै गएको र होटल व्यवसाय थप क्षतिग्रस्त बनेको गुनासो गरेका छन् । त्यसैले तत्काल सहुलियतपूर्ण हवाई सेवा सञ्चालन गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरिएको छ ।

होटल व्यवसायी संघले राज्यमा ठूलो लगानी गरेका होटल व्यवसायीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिनु खेदजनक भएको उल्लेख गर्दै, होटलमैत्री कार्यक्रम ल्याई पर्यटन प्रवर्द्धन गर्ने र कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने वातावरण निर्माण गर्न सरकारसँग अपिल गरेको छ ।

बिहिबार सुर्खेतमा पत्रकार सम्मेलन मार्फत होटल सिद्दार्थका रामकृष्ण तिमिल्सिनाले मुख्यमन्त्रीकाे यस्तो अभिव्यक्तिले पुराना होटललाई स्थापना हुन सकस  हुने तथा नयाँ नआउने परिस्थिति बन्ने बताए । उनले होटलले सँयौलाई रोजगारी दिएको अबस्थामा यस्तो अभिव्यक्ती आउनु दुखद् भएको बताए ।

यस विषयमा होटल व्यवसायी संघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले पनि मुख्यमन्त्रीको अभिव्यक्तिले व्यवसायीलाई अप्टारो पारेको बताए । उनले संकटमा परेको होटल क्षेत्रलाई सहयोग गर्नुको सट्टा निरुत्साहित गर्ने अभिव्यक्ति आउनु दुःखद भएको टिप्पणी गरे ।

तपाईको प्रतिक्रिया