सुर्खेत । प्रदेश राजधानी सुर्खेतकै वीरेन्द्रनगर–७, इत्राममा दिनदहाडै भएको चोरीले प्रदेश राजधानी असुरक्षित भएको देखाएको छ । कर्णाली प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सांसद र उच्च पदस्थ कर्मचारीसम्म बसोबास गर्ने क्षेत्रकै बीचमा भएको यस घटनाले राजधानीकै सुरक्षा प्रश्नचिन्ह बनेको छ ।
२०८२ असार ३१ गते मुख्यमन्त्री निवासबाट करिब तीस सेकेण्ड पैदल दूरीमा रहेको निजी घरमा ६ तोला सुन, तीन लाख ७५ हजार रुपैयाँ नगद र सुनको बिल चोरी भएको थियो । डेढ महिना पुग्न लाग्दा पनि चोरी भएका सामान फेला परेको छैन । प्रहरीले सिसिटिभी फुटेजमा देखिएको हुलिया मिल्ने एक जनालाई नियन्त्रणमा लिएको छ तर चोरीका सामान फेला पार्न सकेको छैन ।
स्थानीयवासीका अनुसार प्रदेश प्रहरी गण, प्रदेश प्रहरी कार्यालय, प्रदेश सभा भवन र मुख्यमन्त्री निवासलगायतका संवेदनशील स्थल नजिकै चोरी हुनु अचम्मको कुरा हो । ती स्थानमा नेपाली सेना र प्रहरी २४ घण्टा ड्यूटीमा रहे पनि चोर पत्ता नलाग्नु सुरक्षाप्रति उदासीनता ठानिएको छ ।
चोरीमा परेका हरिहर दशौंदी भौतिक पूर्वाधार विकास निर्देशनालय सुर्खेतमा कार्यरत इन्जिनियर हुन् । उनी कार्यालय गएका बेला दिउँसो चार बजेतिर चोरले घरको ताला फोडी कोठाभित्र पस्दै दराज फोडेर सुन र नगद लिएर भागेको सिसिटिभी फुटेजमा प्रष्ट देखिन्छ ।
‘हामीले तीज आउन लागेको भन्दै गरगहना र नगद घरमै राखेका थियौं । साँझ फर्कँदा ढोका फोडिएको र दराजका कपडा छरपस्ट भएको देखेँ,’ दशौंदीले भने, ‘सिसिटिभी फुटेजसहित उजुरी दिएको छु, तर अहिले सम्म चोर पत्ता लागेको छैन । भिभिआईपी बस्ने क्षेत्रमा यस्तो घटना हुनु अचम्मलाग्दो हो ।
यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनबुड थापाले भने चोरीको अनुसन्धान भइरहेको दाबी गरे । ‘सिसिटिभीमा देखिएको हुलिया मिल्ने एक जनालाई नियन्त्रणमा लिएको छौं तर चोरीको सामान भेटिएको छैन,’ उनले प्रतिक्रिया दिए । राजधानीमै सुरक्षा चुनौती देखिने यस घटनाले आम नागरिक थप असुरक्षित महसुस गरिरहेका छन् ।











नेपालीरैबार । २०८२ भाद्र ११, बुधबार