दैलेख । नारायण नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले उपभोक्ताबाट एक करोड रुपैयाँभन्दा बढी महसुल असुल गर्न बाँकी रहेको जनाएको छ । सरकारी, गैरसरकारी सङ्घ–संस्था र सर्वसाधारण उपभोक्ताले वर्षौंदेखि महसुल नतिरेकाले बक्यौता रकम बढ्दै गएको समितिका कार्यालय प्रमुख इन्जिनियर राजन खड्काले जानकारी दिए । उनका अनुसार नगरपालिकाले मात्र करिब २० लाख र अन्य कार्यालय तथा संस्थाले ७३ लाखभन्दा बढी रकम तिर्न बाँकी छ ।
नगर विकास कोषसँग लिएको ११ करोड २० लाख ऋणको ब्याजबापत मासिक सात लाख ५० हजार रुपैयाँ तिर्नसमेत समस्या परेको समितिले जनाएको छ । समितिका संयोजक सन्देशकुमार श्रेष्ठका अनुसार बारम्बार ताकेता, सूचना प्रकाशन र नाम सार्वजनिक गरिए पनि धेरै उपभोक्ताले महसुल तिरेका छैनन् ।
समितिले नेपाल सरकारको खानेपानी नियमावली २०८१ अनुसार नियमित महसुल नतिर्ने उपभोक्ताको धारा काट्ने तयारी गरेको छ । हालसम्म सबैभन्दा धेरै बक्यौता जिल्ला स्वास्थ्य सेवा कार्यालयले तिर्न बाँकी छ, जसको रकम १४ लाख ९४ हजार २८३ रुपैयाँ पुगेको छ । जिल्ला प्रहरी कार्यालय, त्रिभुवन माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालयलगायतका कार्यालयले पनि महसुल तिरेका छैनन् ।











नेपालीरैबार । २०८२ भाद्र १५, आईतवार