जुम्ला । यहाँका सात गाउँपालिका र एक नगरपालिका गरी आठ स्थानीय तहका स्याउ किसानलाई यो याममा बगैँचामा स्याउ टिप्न भ्याइनभ्याइ भएको छ । स्याउ पाकेसँगै व्यापारीहरू बगैँचामै पुगेर खरिद गर्न थालेका छन् ।
तातोपानी–४ का किसान प्रेमराज पाण्डेले यस वर्ष करिब ५० प्रतिशत बिरुवामा मात्र फल आएको र गत वर्षभन्दा ४० प्रतिशत कम उत्पादन भएको जानकारी दिए । हाल उनले घरमै प्रतिकिलो रु ६५ मा स्याउ बिक्री गरिरहेका छन् ।
कृषि विकास कार्यालयका अनुसार यस वर्ष २, हजार ९ सय हेक्टर क्षेत्रमा करिब १६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान छ । निर्यातबाट झन्डै रु ४५ करोड आम्दानी हुने अपेक्षा गरिएको छ । जिल्लामा स्थानीय जातसँगै गोल्डेन, गाला, फुजी, इटाली र जोनाप्रिन्स जातका स्याउ खेती हुँदै आएको छ । करिब १८ हजार घरधुरी स्याउ खेतीमा निर्भर छन् ।
यसैबीच, तिला–८ जुम्लाकोटकी महिलाहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन् । वर्ल्ड भिजन इन्टरनेशनलको सहयोगमा कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले सञ्चालन गरेको परियोजनाबाट तालिम र प्रविधि पाएपछि महिलाले स्वरोजगार र आत्मनिर्भरता हासिल गर्न थालेका छन् ।
स्थानीय शोभा बस्नेतका अनुसार मौसमी र बेमौसमी तरकारी खेतीबाट गत आवमा मात्रै समूहले करिब रु एक लाख आम्दानी गरेको छ । उत्पादित गोलभेँडा हाल गाउँमै प्रतिकिलो रु ४० मा बिक्री हुने गरेको छ । तर, यातायात सुविधा नहुँदा तरकारी बजारसम्म पुर्याउन कठिनाइ हुने समस्या भने कायम छ ।











नेपालीरैबार । २०८२ भाद्र २०, शुक्रबार