नारायण नगरपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि बहुआयामिक पहल अघि सार्यो

दैलेख । नारायण नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न विभिन्न रणनीति र कार्यक्रमलाई प्राथमिकतामा राख्दै कार्यान्वयन गरिरहेको छ । शिक्षक क्षमता अभिवृद्धि, विद्यार्थी–केन्द्रित वातावरण, आधुनिक प्रविधिको प्रयोग, पूर्वाधार सुधार र समुदायको सक्रिय सहभागिता मार्फत शिक्षा क्षेत्रलाई बलियो बनाउने नगरपालिकाको योजना रहेको छ ।

शिक्षा सुधारका लागि सातवटा आधारभूत उपायलाई रणनीति बनाइएको छ । पहिलो, शिक्षक क्षमता विकास अन्तर्गत नियमित तालिम, आधुनिक शिक्षण विधि, प्राविधिक सीप, बाल–मनोविज्ञानसम्बन्धी तालिम र उत्कृष्ट कार्य गर्ने शिक्षकलाई प्रोत्साहन दिने व्यवस्था गरिने भएको छ । दोस्रो, पाठ्यक्रम र शिक्षण विधि विद्यार्थीको मनोविज्ञानअनुसार परिमार्जन गरी स्थानीय सन्दर्भमा आधारित, सृजनात्मक र अनुभवात्मक सिकाइमा जोड दिइनेछ ।

तेस्रो, विद्यार्थी–केन्द्रित वातावरण तयार गर्न विद्यालयमा अनुशासनसँगै प्रेम, सहयोग र संवादयुक्त वातावरण सिर्जना गर्ने, कमजोर विद्यार्थीलाई व्यक्तिगत सहयोग र परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गरिएको छ । चौथो, पर्याप्त कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला, खेलमैदान, खानेपानी र शौचालय जस्ता आधारभूत पूर्वाधार र आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने कार्यक्रम अघि सारिएको छ ।

पाँचौँ, शिक्षा सुधारमा अभिभावक र समुदायको सक्रिय सहभागिता बढाउने उद्देश्यले सचेतना कार्यक्रम, विद्यालय विकास समितिको सशक्तिकरण र स्थानीय स्रोतको उपयोगलाई प्राथमिकता दिइएको छ । छैटौँ, निरन्तर मूल्याङ्कनमार्फत विद्यार्थीको प्रगति मात्र नभई शिक्षकको प्रदर्शन, पाठ्यक्रमको प्रभावकारिता र विद्यालय व्यवस्थापनको समेत मूल्याङ्कन गर्ने प्रणाली लागू गरिनेछ । सातौँ, नवाचार र प्रविधि अन्तर्गत अनलाइन सिकाइ, मल्टिमिडिया शिक्षण र सामाजिक परियोजनामार्फत विद्यार्थीलाई समस्या समाधान, अनुसन्धान र सामुदायिक विकासमा सहभागी गराइनेछ ।

नगरपालिकाले हालसम्म गरेका ठोस प्रयासहरू पनि उल्लेखनीय छन् । कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम कार्यान्वयन गरी विद्यार्थीलाई आफ्नो संस्कृति, भाषा र इतिहाससँग जोडिएको शिक्षण वातावरण उपलब्ध गराइएको छ । ८६ जना शिक्षकलाई समावेशी शिक्षा र कक्षा व्यवस्थापन तालिम दिइएको छ भने प्रारम्भिक बाल शिक्षा र विकास (ईसीडी) शिक्षकलाई तालिम उपलब्ध गराइएको छ ।

यसबाहेक, नगरपालिकाले ३८ विद्यालयलाई पाँच क्लस्टरमा विभाजन गरी घुम्ती बैठक सञ्चालन गरेको छ, जसबाट विद्यालयबीच अनुभव साटासाट र सुधारका उपाय पहिचानमा सहयोग पुगेको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पालिकाका चार विद्यालयमा भौतिक संरचना सुधारका लागि बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले शिक्षा सुधारमा समुदाय र अभिभावकको सक्रिय सहभागिता आवश्यक ठहर गर्दै विभिन्न सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । विशेष गरी बादी समुदाय र बालिकाको शिक्षा पहुँचमा अझै चुनौती रहेका कारण प्रारम्भिक विवाह, लैंगिक विभेद हटाउन समाजमा सचेतना र सरकारी सक्रियतासमेत आवश्यक रहेको नारायण नगरपालिकाका वरिष्ट शिक्षा अधिकृत पूर्ण प्रसाद उपाध्यायको भनाइ छ ।

तपाईको प्रतिक्रिया