सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा जेनजी आन्दोलनका क्रममा ०८२ भदौ २४ गते प्रदर्शनकारीहरूले सरकारी, निजी, पार्टी कार्यालय र संस्थाका गरी ६० ओटा संरचना तथा सरकारी र निजी गरेर ४५ ओटा सवारी साधनमा तोडफोड तथा आगजनी गरेका छन् ।

प्रदेशका १० जिल्लाहरु मध्ये सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, संस्थाका कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय, सरकारी निवास र जनप्रतिनिधिका निजी निवासहरुमा तोडफोडसँगै आगजनी गरेको पाइएको छ । जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुमपश्चिममा आन्दोलनकारीहरुले प्रदर्शन गरेपनि सार्वजनिक र निजी सम्पत्ति तोडफोडका घटना नभएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले गरेको अनुगमनका क्रममा पाइएको जनाएको छ ।
इन्सेक कर्णाली प्रदेश कार्यालय, सुर्खेतले १० ओटै जिल्लामा रहेका इन्सेक प्रतिनिधिका साथै मिडिया मोनिटरिङ गरी तयार पारेको प्रारम्भिक विवरणमा सबैभन्दा बढी क्षति सुर्खेतमा भएको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिए । उनका अनुसार सुर्खेतमा मात्रै २८ ओटा सरकारी संरचना र आठ ओटा निजी सम्पत्तिका संरचना, पाँच ओटा पार्टी कार्यालय र तीन ओटा संघसंस्थाका कार्यालय गरी ४४ ओटा भौतिक संरचनामा आगजनी र तोडफोड गरिएको छ ।
आन्दोलनकारीहरुले प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित कर्णाली प्रदेश सभा, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रकको कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, झुप्रा बृहत खानेपानीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, मुख्यान्याधिवक्ताको कार्यालय, वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ का वडा कार्यालय, उच्च सरकारी वकिलको कार्यालय, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको कार्यालय, श्रीकृष्ण तथा साधारण माध्यामिक विद्यालय, मुख्यमन्त्री, कृषिमन्त्री, भौत्तिक मन्त्री निवास, हिमाली पुस्तकालय वीरेन्द्रनर, नेपाल रेडक्रस सोसाइटी भैरवस्थान उपशाखा लगायतका सार्वजनिक कार्यालयहरुमा तोडफोडसँगै आगजनी गरेका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाको पार्टी कार्यालयमा तोडफोड र आगजनी गरेका छन् । त्यस्तै कांग्रेस उपसभापति पुर्णबहादुर खड्काको निवास, मुख्यमन्त्री यामलाल कँडेलको निजी निवास, वीरेन्द्रनगरका नगर प्रमुख मोहनमायाँ ढकाल र उपप्रमुख निलकण्ठ खनालको निजी निवास, प्रदेश अस्पतालका पूर्व निर्देशक डाक्टर डम्बर खड्काको निवास, विष्णु खड्काको माया पेट्रोल पम्पमा तोडफोडसँगै आगजनी गरी क्षति पुर्याएका छन् । न्दोलनकारीहरुले प्रदेश सभामा रहेको एनआइसी एसिया बैंकको एटिएम समेत तोडफोडसँगै आगजनी गरेका छन् ।
त्यस्तै सुर्खेतमा मात्र आन्दोलनकारीहरुले लगाएको आगजनीका कारण ११ सरकारी गाडी र आठ मोटरसाइकलमा क्षति पुगेको छ । निजी सवारी अन्तर्गत दुई गाडी र पाँच मोटर साइकलमा क्षति पुगेको छ । त्यस्तै जुम्लामा जेनजी आन्दोलनकारीहरुले एक सरकारी कार्यालय, पाँच पार्टी कार्यालय गरी ६ ओटा कार्यालयमा आगजनीसँगै तोडफोड गरेका छन् । आठ ओटा सरकारी गाडी र ११ ओटा मोटर साइकल तोडफोडसँगै आगजनी गरेका छन् । आन्दोलनकारीहरुले एम्बुलेन्स, शववहान र दमकलमा समेत तोडफोड गरेका छन् ।
त्यस्तै कालिकोटमा आन्दोलनकारीहरुले नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका गरी सात ओटा पार्टी कार्यालयमा तोडफोडसँगै आगजनी गरेका छन् ।
मुगुमा आन्दोलनकारीहरुले नेपाली काँग्रेस र नेकपा एमालेको पार्टी कार्यालय तोडफोड गरेका छन् । उनीहरुले छायाँनाथ रारा नगरपालिकामा नगर प्रमुखको कार्यकक्ष भित्र पसेर राष्ट्रपति र प्रधानमन्त्रीको फोटो निकालेर जलाएका थिए ।
त्यसैगरी भदौ २४ गते नै डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोट बगरस्थित नेपाली कांग्रेस नगर समितिको कार्यालय रहेको स्थानीयको घरमा आन्दोलनकारीले ढुंगामुढा हानेर तोडफोड गरेका थिए ।










नेपालीरैबार । २०८२ भाद्र ३१, मंगलवार