सुर्खेत । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका कारण कर्णाली प्रदेशमा अर्बौँ रुपैयाँ बराबरको क्षति भएको छ । आन्दोलनरत पक्षबाट गरिएको आगजनी र तोडफोडले सरकारी तथा निजी सम्पत्तिमा ठूलो नोक्सानी पुगेको हो । कर्णालीका १० मध्ये सुर्खेत, जुम्ला, कालिकोट, मुगु र डोल्पामा सरकारी कार्यालय, संस्थागत भवन, राजनीतिक दलका पार्टी कार्यालय, जनप्रतिनिधि तथा उच्च पदस्थ व्यक्तिहरूका निजी निवासमा तोडफोड र आगजनी भएको छ । जाजरकोट, हुम्ला, दैलेख, सल्यान र रुकुम पश्चिममा भने प्रदर्शन भए पनि ठूलो क्षति नभएको इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र) को अनुगमनमा देखिएको छ ।
सुर्खेतमा सबैभन्दा बढी क्षति
इन्सेक कर्णाली प्रदेश कार्यालयले संकलन गरेको विवरणअनुसार, सबैभन्दा ठूलो क्षति सुर्खेतमा भएको छ । राजधानी वीरेन्द्रनगरका धेरै सार्वजनिक सम्पत्तिहरू ध्वस्त भएका छन् । सुर्खेतमा मात्रै २८ सरकारी संरचना, ८ निजी सम्पत्ति, ५ दलका पार्टी कार्यालय र ३ संस्थागत कार्यालय गरी ४४ भौतिक संरचनामा तोडफोड तथा आगजनी भएको छ ।
आन्दोलनकारीहरूले प्रदेश सभा भवन, सिटी हल, वीरेन्द्रनगर नगरपालिकाको कार्यालय, नापी कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय, जिल्ला समन्वय समिति, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय, मुख्य न्यायाधिवक्ताको कार्यालय, वडा कार्यालयहरू १ देखि १२ लगायतका कार्यालयहरूमा क्षति पुर्याएका छन् ।
मुख्यमन्त्री, कृषिमन्त्री र भौतिक मन्त्रीको निवास, विभिन्न विद्यालय, पुस्तकालय, खानेपानी योजना कार्यालय, अस्पतालका पूर्व निर्देशकको निवास, पेट्रोल पम्प तथा नेपाल रेडक्रसको उपशाखा कार्यालय पनि तोडफोड र आगजनीबाट प्रभावित भएका छन् ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र जनमोर्चाका कार्यालयमा क्षति पुगेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, मुख्यमन्त्री यामलाल कँडेल, वीरेन्द्रनगर नगरप्रमुख मोहनमाया ढकाल, उपप्रमुख नीलकण्ठ खनाल लगायतका नेताहरूको निजी निवासमा समेत आक्रमण गरिएको छ । प्रदेश सभाभित्र रहेको एनआईसी एशिया बैंकको एटीएमसमेत जलाइएका छन् । प्रदेश सभाका कानुन अधिकृत मदन खड्काका अनुसार सभाको सम्पूर्ण संरचना ध्वस्त भई क्षतिको मूल्य अर्बौँको हाराहारीमा पुगेको अनुमान छ ।
सवारी साधनमा पनि ठूलो क्षति
सुर्खेतमै ११ सरकारी गाडी, ८ मोटरसाइकल, २ निजी गाडी र ५ निजी मोटरसाइकलमा आगजनी र तोडफोड भएको छ । जुम्लामा १ सरकारी कार्यालय, ५ पार्टी कार्यालयसहित ६ संरचना क्षतिग्रस्त, साथै ८ सरकारी गाडी, ११ मोटरसाइकल, एम्बुलेन्स, शववहान र दमकलसम्ममा क्षति भएकाे छ ।
कालिकोटमा कांग्रेस, एमाले, माओवादी, रास्वपा, समाजवादी, नेमकिपा र राप्रपाका ७ पार्टी कार्यालयमा आगजनी भएकाे छ । मुगुमा कांग्रेस र एमालेका पार्टी कार्यालयमा तोडफोड, छायानाथ रारा नगरपालिकाको कार्यालयमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो जलाइयो छ ।
डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटमा कांग्रेस नगर समितिको कार्यालय रहेको घरमा तोडफोड भएकाे छ । आन्दोलनबाट अर्बौँ बराबरको सार्वजनिक तथा निजी सम्पत्ति क्षतिग्रस्त हुनुका साथै सेवा प्रवाह गर्ने सरकारी तथा संस्थागत कार्यालयहरू अहिले ठप्प अवस्थामा रहेका छन् ।











नेपालीरैबार । २०८२ आश्विन १, बुधबार