हुम्ला। जन्म र मृत्युमा उपलब्ध हुने खाद्यान्न सहयोग कार्यक्रम लागू भएको नौ वर्षपछि अब हुम्लाका थप दुई गाउँपालिकाका बासिन्दाले पनि यो सुविधा पाउने भएका छन्। यसअघि सो योजनाबाट बञ्चित चङ्खेली र ताजाकोट गाउँपालिकाका स्थानीयलाई यस वर्षदेखि खाद्यान्न सहयोग उपलब्ध गराउने निर्णय जिल्ला खाद्य व्यवस्था समितिको बैठकले गरेको हो।
साउन महिनादेखि लागू हुने गरी चङ्खेली र ताजाकोटका स्थानीयले पनि जन्म वा मृत्यु भएपछि सरकारले उपलब्ध गराउने अनुदान खाद्यान्न लिन सक्ने शाखा प्रमुख कृष्णबहादुर थापा मगरले जानकारी दिनुभयो। यसअघि नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगार्ड र अदानचुली गाउँपालिकामा मात्र यो सहयोग वितरण हुँदै आएको थियो ।
साविक कर्णालीका स्थानीयलाई सरकारले जन्म वा मृत्यु भएमा २० केजी खाद्यान्न सहयोग गर्ने प्रावधान छ । तर, यो कार्यक्रम सुरु भएको नौ वर्षपछि मात्र चङ्खेली र ताजाकोटका बासिन्दाले सुविधा पाउने अवसर पाएका हुन्।
व्यवस्थाअनुसार चङ्खेली गाउँपालिकाका स्थानीयले सर्केगार्ड डिपोबाट र ताजाकोटका स्थानीयले अदानचुलीको श्रीनगर डिपोबाट खाद्यान्न प्राप्त गर्नेछन् । साथै, प्राप्त हुने खाद्यान्न ढुवानीका लागि प्रत्येक परिवारले १,हजार रुपैयाँ नगद सहयोग पनि पाउने व्यवस्था गरिएको छ।
गत आर्थिक वर्षमा मात्रै जन्म र मृत्यु सम्बन्धी कार्यक्रममा सिमकोट शाखा र विभिन्न डिपोमार्फत १०४.६० क्विन्टल खाद्यान्न वितरण गरिएको थियो भने त्यसको ढुवानीका लागि दुई लाख १२ हजार पाँच सय रुपैयाँ खर्च भएको थियो ।











नेपालीरैबार । २०८२ आश्विन १, बुधबार