वीरेन्द्रनगरका १ देखि १२ वडा कार्यालय जलेर ध्वस्त, सेवाप्रवाह ठप्प

सुर्खेत । जेन–जी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका कारण सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १२ वटा वडा कार्यालय पूर्ण रूपमा जलेर ध्वस्त भएका छन् । वडा नम्बर १ देखि १२ सम्मका कार्यालय तत्काल सेवा दिन नसक्ने अवस्थामा रहेको अबस्थामा छैनन् ।

१६ मध्ये उपत्यकाभित्र रहेका १२ वटै वडा कार्यालयका भवन, विद्युतीय सफ्टवेयर, उपकरण, कागजात, फर्निचर र खानेपानीलगायतका पूर्वाधार जलेर नष्ट भएका छन् । आफ्नै भवन प्रयोग गर्दै आएका वडा कार्यालयहरू अहिले खण्डहर बनेका छन्, जसलाई पूर्वावस्थामा ल्याउन ठूलो धनराशि खर्चिनुपर्ने देखिएको छ ।

वडा कार्यालयहरू सेवा प्रवाह गर्ने स्थानीय सरकारको आधारभूत निकाय हुन् । तर आगजनीपछि जन्म, मृत्यु, विवाह, सम्बन्धविच्छेद, बसाइँसराइ दर्ता, नागरिकता बनाउन आवश्यक पर्ने सिफारिस, बसोबास प्रमाणपत्र, जग्गा नामसारी, नक्सा पास र घर निर्माण अनुमति जस्ता सेवा पूर्ण रूपमा रोकिएका छन् ।

वडा नम्बर १ का वडाध्यक्ष दिनेश खत्री र वडा नम्बर ११ का वडाध्यक्ष खिमलाल देवकोटाले सम्पूर्ण कागजी अभिलेखसहित कार्यालयका सामग्री नष्ट भएकाले तत्काल सेवा दिन सकिने अवस्था नरहेको बताए । सामाजिक सुरक्षा भत्ता वितरणदेखि कर संकलनसमेत प्रभावित भएको उनीहरूको भनाइ छ ।

वडा नम्बर १२ का वडाध्यक्ष चूडामणि चपाईंका अनुसार आन्दोलनकारीले कार्यालयमा रहेका दराज, टेबल र इलेक्ट्रोनिक सामग्री तोडफोड गर्नुका साथै महत्त्वपूर्ण कागजात छानीछानी जलाएका छन् । केही कागजात र सामग्री चोरी गरिएको समेत आशंका गरिएको छ । वडाध्यक्षहरूले यसमा स्थानीयको समेत संलग्नता हुन सक्ने आरोप लगाएका छन्।

२० करोडभन्दा बढीको क्षति

वीरेन्द्रनगर नगर प्रमुख मोहनमाया ढकालले आगजनी र तोडफोडका कारण करिब २० करोड रुपैयाँभन्दा बढीको क्षति भएको बताइन् । उनले अहिले कुनै पनि वडा कार्यालय सञ्चालन योग्य नभएकाले नगरपालिकाको मुख्य कार्यालयबाटै सेवाप्रवाह गर्न प्रयास भइरहेको जानकारी दिइन् ।

ढकालका अनुसार क्षतिग्रस्त कार्यालयलाई मर्मत गर्न ठूलो रकम आवश्यक पर्ने भएकाले तत्काल सेवा पूर्ण रूपमा सञ्चालन गर्न कठिनाइ हुनेछ। हाल नगरपालिकाले स्वास्थ्य सेवा र दमकल मात्र सञ्चालनमा रहेको उनले बताइन् । साथै, आन्दोलनकारीले नगरपालिकाको फोहोर व्यवस्थापन गर्ने गाडी जलाइदिएकाले त्यसको व्यवस्थापनसमेत अस्तव्यस्त बनेको उनले चिन्ता व्यक्त गरिन् ।

तपाईको प्रतिक्रिया