भेरी पम्पिङ खानेपानी आयोजना तोकिएको समयमै सम्पन्न नहुने पक्का

सुर्खेत । वीरेन्द्रनगरवासीको बहुप्रतीक्षित भेरी पम्पिङ खानेपानी आयोजना निर्माणमा ढिलाइ हुँदै गएको छ । मेलम्चीपछि देशकै दोस्रो ठूलो दाबी गरिएको यो आयोजना तोकिएको अवधिभित्र सम्पन्न नहुने पक्का भएको छ ।

निर्माण कार्य दुई वर्षमै सक्ने योजना थियो । सम्झौता अवधिमा अब वर्ष दिन मात्र बाँकी रहँदा अहिले पाइपलाइन विस्तार र सहायक ट्याङ्की निर्माणमा मात्रै काम भइरहेको छ । तर आयोजना अन्तर्गतको मुख्य काम भेरी नदीको सतहदेखि करिब सात किलोमिटर भित्री भागमा इन्टेक निर्माण र मुख्य रिजर्भ ट्याङ्की बनाउनुपर्ने काम भने सुरु नै हुन सकेको छैन ।

आयोजनाको काम ढिलाइ हुनुमा सामुदायिक वन क्षेत्रका करिब एक हजार पाँच सय रूख काट्ने अनुमति प्रक्रियामा भएको ढिलासुस्ती र पाइपलाइन विस्तारमा स्थानीय अवरोध प्रमुख कारण बनेका छन् । मुख्य क्षेत्रमा काम गर्न नपाएपछि निर्माण कम्पनीले हाल धारापानी, खोर्केखोला, कालीमा मन्दिर क्षेत्रमा सहायक ट्याङ्की निर्माण तथा इत्राम, पिपिरा, धुलियाबिट र बाङ्गेसिमल क्षेत्रमा पाइपलाइन विस्तार गरिरहेको छ ।

हालसम्म जम्मा साढे आठ किलोमिटर पाइपलाइन मात्र बिछ्याइएको छ भने अझै साढे २६ किलोमिटर काम बाँकी छ । बाङ्गेसिमल क्षेत्रमा सडक नभत्काउने शर्तमा स्थानीयले अवरोध गरेपछि काम रोकिएको थियो । अहिले नगरपालिकाले समन्वय गरी अवरोध हटाउने प्रयास गरिरहेको छ ।

साढे चार अर्ब रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना चिनियाँ निर्माण कम्पनीले साढे तीन अर्बमा ठेक्का लिएको हो । लागतको ७० प्रतिशत विश्व बैङ्कको ऋण, बाँकी ३० प्रतिशत संघ, प्रदेश र स्थानीय सरकारले साझेदारी गर्ने सम्झौता गरिएको छ ।

भेरीबाट प्रतिसेकेन्ड ५ सय ४० लिटर पानी पम्पिङ गरी वीरेन्द्रनगर–११ को अमृतडाँडामा ल्याई त्यहाँ निर्माण हुने तीन हजार घनमिटर क्षमताका तीन ट्याङ्कीमार्फत शहरमा वितरण गर्ने योजना छ । आयोजना पूरा भएमा वीरेन्द्रनगरमा आगामी २५ वर्षसम्म खानेपानीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया