सुर्खेतमा कार्यस्थलमै लैङ्गिक हिंसा तथा यौनजन्य दुर्व्यवहार न्यूनीकरणका लागि गुनासो सुनुवाइ समिति गठन

सुर्खेत । कार्यस्थलमा हुन सक्ने लैङ्गिक हिंसा तथा यौनजन्य दुर्व्यवहार रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेशले सुर्खेतमा तीन सदस्यीय गुनासो सुनुवाइ समिति गठन गरेको छ ।

“शसक्त महिला, समृद्ध नेपाल” कार्यक्रम अन्तर्गत वीरेन्द्रनगर–१२ मा रहेको सुरक्षा ग्याभिन वायर इण्डष्ट्रिज प्रा।लि।मा आयोजित कार्यक्रममा महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाही, महासंघका सदस्य तथा गैरसरकारी संस्था समन्वय समिति संयोजक प्रेम भण्डारी, कार्यकारी निर्देशक महेशकेशर खनाललगायतको उपस्थिति रहेको थियो ।

गठित समितिको संयोजकमा उद्योगका व्यवस्थापक हेमराज शर्मा तोकिएका छन् भने कर्मचारी प्रतिनिधिबाट भुवन घर्ती र स्वतन्त्र सदस्यका रूपमा वीरेन्द्रनगर–९ निवासी प्रशुराम जैसी चयन भएका छन् ।

समितिको प्रमुख उद्देश्य कार्यस्थलमा देखिन सक्ने लैङ्गिक विभेद, हिंसा, दुर्व्यवहार वा अन्य गुनासोलाई व्यवस्थित ढङ्गले सुनुवाइ गर्ने, छानबिन गरी समाधानका लागि पहल गर्ने र पीडितलाई न्याय दिलाउने वातावरण निर्माण गर्नु रहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष पदमबहादुर शाहीले सुरक्षित, मर्यादित र समान अवसरयुक्त कार्यस्थल बनाउन यस्ता पहल अनिवार्य रहेको बताए । उनले भने, “कर्मचारीको समस्या र आवाज सम्बोधन गर्न आन्तरिक संयन्त्र आवश्यक हुन्छ । यस्तो समितिले कर्मचारीबीच विश्वासको वातावरण र उद्योगको प्रतिष्ठा दुवैलाई मजबुत बनाउँछ ।

उनका अनुसार समितिको सक्रियताले कार्यस्थलमा देखिन सक्ने सम्भावित हिंसा वा दुर्व्यवहारलाई न्यूनीकरण गर्ने मात्र नभई पीडितलाई न्याय दिलाउन, सुरक्षित र भेदभावमुक्त कार्यस्थल सिर्जना गरी कर्मचारीको मनोबल र उत्पादनशीलता दुवै बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया