सुर्खेत । कर्णाली प्रदेश सरकारले गरिब तथा विपन्न नागरिकका लागि हालसम्म कुल ४ हजार ८५६ घर निर्माण सम्पन्न गरेको जनाएको छ । जनता आवास प्रदेश जनता आवास संघ र विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत प्रदेशका १० जिल्लाका विभिन्न स्थानीय तहमा घर निर्माण गरिएको हो ।
भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका प्रवक्ता रमेश सुवेदीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा जनता आवास संघतर्फ ३ हजार १ सय ५० घर निर्माण भएका थिए भने जनता आवास प्रदेश तर्फ ५ सय २२ घर निर्माण सम्पन्न भएको थियो । त्यसैगरी आर्थिक वर्ष २०८/र८२ मा संघीय स्तरबाट ३ सय ८० र प्रदेश सरकारले १ सय ८४ घर निर्माण गरेको उनले बताए ।
विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत २०८०/८१ मा ३ सय ९७ र २०८१/८२ मा २ सय २३ घर निर्माण गरिएको मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा जनता आवास संघ तर्फ सबैभन्दा बढी कालिकोटमा १ सय ८१, सुर्खेतमा १ सय ४२, दैलेखमा ३८ र जाजरकोटमा १९ घर बनेका छन् । त्यस्तै जनता आवास प्रदेशतर्फ सुर्खेतमा ३३, दैलेखमा १४, सल्यानमा १६, रुकुम पश्चिममा २३, जाजरकोटमा २७, डोल्पामा १४, जुम्लामा २१, मुगुमा ६, कालिकोटमा १० र हुम्लामा २० घर निर्माण भएका छन् ।
विपन्नको घर निर्माण कार्यक्रमअन्तर्गत सुर्खेतमा ३६, दैलेखमा ३९, सल्यानमा १३, रुकुम पश्चिममा २३, जाजरकोटमा २३, डोल्पामा ११, जुम्लामा २०, मुगुमा ८, कालिकोटमा ३० र हुम्लामा २० घर निर्माण गरिएको छ । मन्त्रालयका अनुसार हालसम्म तीनवटै कार्यक्रमअन्तर्गत कर्णालीमा जम्मा ७ सय ८७ घर निर्माण सम्पन्न भएका छन् ।











नेपालीरैबार । २०८२ आश्विन २२, बुधबार