जाजरकोटमा अपाङ्गता भएका व्यक्तिहरूको गुनासो, राज्यले पर्याप्त अवसर दिएन

सुर्खेत ।  जाजरकोटमा अपाङ्गता भएका व्यक्तिहरूले राज्यले आफूहरूलाई पर्याप्त अवसर र सुविधा नदिएको गुनासो गरेका छन्। जिल्लामा आयोजित एक अन्तर्क्रिया कार्यक्रममा सहभागीहरुले सरकारी तथा गैरसरकारी निकायबाट जीवन–निर्वाहका आधारभूत सुविधासमेत नपाएको पीडा व्यक्त गरे । भेरी नगरपालिका–१ का धनी खत्रीले सरकारले उपलब्ध गराउने सेवा–सुविधा आफूहरूले कहिल्यै पूर्ण रूपमा पाउन नसकेको बताए। सार्वजनिक यातायातमा भाडा छुटसमेत दिइँदैन भन्दै उनले गुनासो पोखे। विद्यार्थी प्रेम तिरुवाले पनि अध्ययनमा अपाङ्गता भएका व्यक्तिलाई लक्षित कुनै सुविधाको व्यवस्था नभएको बताए । अपाङ्ग स्वाबलम्बन संस्थाका सचिव हस्त नेपालीले जिल्लामा अपाङ्गमैत्री पूर्वाधार नहुँदा दैनन्दिन सेवा लिन अत्याधिक सास्ती हुने बताए। सरकारी तथा गैरसरकारी कार्यालयमा पुग्दा कार्यकक्षासम्म नै पुग्न कठिनाइ हुने उल्लेख गर्दै उनले तत्काल पूर्वाधार सुधारका कदम चाल्न आग्रह गरे।

नेत्रहीन संघ, जाजरकोटका अध्यक्ष ठगेन्द्र लुहारले जिल्लामा विशेष कक्षा सञ्चालन नगरेकाले शिक्षाबाट धेरै अपाङ्गता भएका व्यक्तिहरू वञ्चित भइरहेको बताए। सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई सिकाइमा सहज बनाउने विशेष कक्षा अनिवार्य व्यवस्था गर्नुपर्ने माग उनले राखे । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति, जाजरकोटका उपप्रमुख दलबहादुर सिंहले सबै सात वटै पालिकामा अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष व्यवस्था मिलाउन समन्वय गर्ने प्रतिबद्धता जनाए । अपाङ्ग स्वाबलम्बन संस्थाको आयोजनामा भेरी नगरपालिका–४, गैरीखालीबाट निकालिएको र्‍यालीले खलंगा बजार परिक्रमा गरेको थियो। र्‍यालीपछिको अन्तरक्रियासहित कार्यक्रम सम्पन्न भयो ।

तपाईको प्रतिक्रिया