व्यक्तिगत सहयोगले दशैँमा ९ सय परिवारलाई राहत

जुम्ला । जिल्लाको गुठिचौर गाउँपालिकाका उजेला रोकायाले जनक थकालीको राहतले संकटमा परेका स्थानीय निकै खुसि भएको बताए । थकालीले २३ लाख रुपैयाँ बराबरको राहत उपलब्ध गराएका थिए ।

गाउँपालिका अध्यक्ष हरीबहादुर भण्डारी, उपाध्यक्ष जानदेबी ऐडी, नेकपा जिल्ला सचिवालय सदस्य आदीप्रसाद न्यौपाने, नेपाली काँग्रेसका गुठिचौर गाउँपालिका सभापति अर्जुन महताराले राहत हस्तान्तरण गरेका थिए ।

राहत लिन आएका स्थानीयले जनक थकालीलाई खादा र अविर लगाएर सम्मान गरेका थिए । उनीहरुले संकटका समयमा असल साथी भएकोमा गर्व लागेको बताउँदै सधैंभरी साथमै रहने बताएका थिए ।

अहिले सम्म स्थानीय सरकारले यत्रो ठुलो संख्यामा यति धेरै राहत दिन सकेको छैन् । तर कार्यपालिका सदस्य एउटै ब्यक्तिले ९ सय परिवारलाई राहत दिएका हुन् । जनक थकाली जडिबुटी व्यवसायी हुुन् । उनी यार्सागुम्वा र सेतक चिनि संकलन गर्छन् ।

राहत वितरण गर्दै थकालीले भने,‘यो राहत मैले रुपैयाँ धेरै भएर बाँडेको होइन । मलाई तपाईहरुले जडिबुटी दिनु भयो । मुनाफा आएको रकमले हजुरहरुलाई संकटको बेला सानो साथ मात्र दिइएको हुँ । राहतमा कुनै स्वार्थ छैन् ।’

कोरोना भाइरसका कारण स्थानीयले जडिबुटी संकलन गर्न सकेका छैनन् । यहाँको आम्दानीको स्रोत नै जडिबुटी हो । जडिबुटी यो बर्ष संकलन हुन सकेन् । संकलित जडिबुटी समेत निश्चित गन्तब्यमा पुग्न सकेको छैन् । उनले भने,‘अब हामी कृषि व्यवसायमा सहभागि बनौँ । तपाइहरुले उत्पादन गरेको हरेक कृषि वस्तुको व्यवस्थापनमा म साथ दिन्छु । कृषि बस्तु बजारीकरणमा कुनै अभाव हुन दिनेछैन् ।’

स्थानीय नेता अर्जुन महतारा दुखको बेला राहत दिएकोमा खुसि पोख्दै जनताको सुखदुखमा सारथी बनिदिएकोमा आभार ब्यक्त गरे । उनले भने,‘स्थानीय सरकारले बाँड्नु पर्ने राहत एक्लो ब्यक्तिले बाँड्नु राम्रो पक्ष हो । तर यो कार्यले स्थानीय सरकारलाई चुनौति दिइएको छ ।’ राहत लिन आएका स्थानीयले आगामी दिनमा पनि सुख दुखमा साथ दिन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया