‘गजेन्द्र सर’को स्कुलमा सेनाले बनाइदियो नयाँ भवन

मर्ज हुने स्थितिमा पुगेको विद्यालयको स्वरुप बदलियो

सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाको वडा नम्बर १४ को कृष्णनगरमा छ जन संयुक्त आधारभूत विद्यालय । यो विद्यालय २०५२ सालमा स्थापना भएको हो ।

कमजोर भौतिक पूर्वाधारका कारण मर्ज हुने अवस्थामा पुगेको यो विद्यालयलाई कक्षा ८ सम्म पु¥याउने श्रेय गजेन्द्र सर अर्थात् ‘गजेन्द्र रानामगर’ लाई जान्छ । तलव नलिएर यहीँ विद्यालयमा पढाइरहेका गजेन्द्रले पढाउन लागेको पनि आठ वर्ष वितेको छ ।

गजेन्द्रकै चर्चाका कारण विद्यालयको व्यथा सार्वजनिक भएको थियो । टिनले छाएको भवनमा हावाहुरीले कति बेला छानो उडाएर विद्यार्थी घाइते हुने पो हुन की भन्ने पिरलो शिक्षक र अभिभावकलाई हुन्थ्यो । झरी परेको बेला छाएको टिनले पनि राम्रोसँग पानी छक्दैन्थ्यो ।

शुरुमा प्राथमिक तह रहेको यो विद्यालयको कमजोर पूर्वाधारका कारण अर्को विद्यालयमा गाँभिने थियो । अभावै अभावकाविच चलिरहेको विद्यालयमा गजेन्द्रको प्रवेश र विद्यालयको पीडामा नेपाली सेना सारथी बनिदिएको छ, अर्थात् विद्यालय र यहाँ अध्ययनरत विद्यार्थीको भविष्यको समेत सुनिश्चितता सेनाको कार्यले रक्षा गरिदिएको छ ।

नेपाली सेनाको पश्चिम हेडक्वाटरको २८ लाख ९१ हजार र बाँकी रकम अन्य निकायले व्यहोरेपछि झण्डै ७० लाखको लागतमा चार कोठे भवन निर्माण गरिएको छ । भवन निर्माणसँगै विद्यालयको भौतिक पूर्वाधारको अवस्था बलियो बनेको छ ।

कसरी जोडियो सेना ?

गजेन्द्र सर र विद्यालयको समस्याबारे थाहा पाएपछि नेपाली सेनाको पश्चिम हेडक्वाटर सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले विद्यालय रहेको स्थानको पहिचान गर्न आफ्ना सैनिकहरुलाई खटाए ।

अन्तत विद्यालय रहेको स्थान र विद्यालयको अवस्था दयनिय रहेको पुष्टी भएपछि विद्यालयको दुई कोठे भवन निर्माण गर्ने योजना बनाउन कमण्ड सेनापति शाहीले निर्देशन दिए । शुक्रबार नवनिर्मित भवन हस्तान्तरणमा समारोहमा पनि कमाण्ड सेनापति शाहीले भने, ‘देशको आन्तरिक र बाह्य सुरक्षादेखी विकास निर्माणमा सेनाले आफ्नो भूमिका निर्वाह गरिरहेकै थियो । सोही क्रममा यो विद्यालयको व्यथा थाहा पाएपछि निर्माण गरिदिने निर्णयमा पुगेका हौं ।’

एक तलाको भवन निर्माण गरेपछि नेपाली सेनालाई स्थानीय र विद्यालयले दोस्रो तला थपिदिन आग्रह गरेका थिए । नागरिक र सेनाविचको सम्बन्धलाई फराकिलो बनाउने उदेश्यले अर्को तला निर्माण गरिदिएको शाहीले उल्लेख गरे । भवन निर्माणमा कालीबक्स गण (ईन्जिनियर) बाट जनशक्ति खटिएको थियो ।

गणबाट खटिएका ३५ जना विभिन्न दर्जाका प्राविधिकहरुले ११५ दिनमा विद्यालयको भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भएको विद्यालय पश्चिम कमाण्ड सेनापति शाही र गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले हस्तान्तरण गरेका छन् ।

विद्यालयकाे चार काेठे भवन निर्माण सकिएपछि विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै पश्चिम कमाण्ड हेडक्वाटर सुर्खेतका कमाण्ड सेनापति प्रेम शाही र गुर्भाकाेट नगरपालिकाका प्रमुख हस्त पुन । तस्वीर सुशील खड्का

‘यस्ता परियोजनाबाट नागरिक–सैनिक सम्बन्ध विस्तार मात्र नभई शिक्षा क्षेत्रको विकासका लागि पनि टेवा पुग्ने आशा व्यक्त गरेको छु,’ शाहीले भने, ‘आगामी दिनहरुमा आवश्यकताका आधारमा सेनासँग सहयोगको माग गरेको खण्डमा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’ सेनाको सानो प्रयासले विद्यालयका कलिला बाल–बालिकाहरुको मस्तिष्कमा नेपाली सेनाप्रति सकारात्मक सोच विकास हुनेमा शाही विश्वस्त छन् ।

भवन हस्तान्तरण समारोहमा पुगेका गुर्भाकोट नगरपालिका प्रमुख पुनले देशको सुरक्षा गर्ने जिम्मा लिएको सेनाले गरेको सामाजिक कार्यले जनतामा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरे ।

नगर क्षेत्रभित्र रहेका हरेक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा आफू लागि परेको उल्लेख गर्दै पुनले भने, ‘सामुदायिक विद्यालयलाई आवश्यक थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ गुर्भाकोटमा सामुदायिक विद्यालय २८ ओटा रहेका छन् ।

विद्यालयकाे भवन निर्माण खटिएका कालिबक्स गण (ई) का विभिन्न दर्जाका प्राविधिकहरुसँग कमाण्ड सेनापति प्रेम शाहीसहितकाे टाेली । तस्वीर सुशील खड्का
विद्यालयकाे भवन निर्माण खटिएका कालिबक्स गण (ई) का विभिन्न दर्जाका प्राविधिकहरु । तस्वीर सुशील खड्का
तपाईको प्रतिक्रिया