वीरेन्द्रनगरमा ज्यानमारा बन्दै ईन्टरनेट सेवाप्रदायकका तार, नियमन निकाय मौन

सुर्खेत । बढ्दो शहरीकरणले प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगर अस्तव्यस्त छ । अव्यस्थित पार्किङ्ग र फुुटपाथको सही व्यवस्थापन नहुँदा दुर्घटनाको जोखिम उच्च छ । तर वीरेन्द्रनगरमा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुको प्रतिस्पर्धाले तारहरु मनलाग्दी जडान गर्दा दुर्घटनाको जोखिम झन बढेको छ ।

ईन्टरनेट र केवल टिभी सेवा प्रदायक कम्पनीहरुले वीरेन्द्रनगरमा जथाभावी तार विस्तार गर्दा सडक फुटपाथहरु भद्रगोल छन् । मुख्य बजार क्षेत्र, जुम्लारोड क्षेत्र, बाङ्गेसिमल, इत्राम, भैरवस्थान, चिसापानी, मुलपानी, रेडियो नेपाल लगायतका ठाउँहरुमा विस्तार गरिएका इन्टरनेट तथा केवल टिभीका तारले पैदल यात्रीलाई मात्र होइन सवारी साधनलाई समेत आवागमनमा असर परेको छ ।

यी क्षेत्रहरुमा जमिनबाट कम उचाईमा रहेका, भुइमै छुने गरी लत्रिएका र प्रयोगमा नआएका अनावश्यक तारका कारण फुटपाथमा समस्या मात्रै होइन दुर्घटनाको जोखिम बढेको हो । वीरेन्द्रनगरमा नेपाल टेलिकम, वल्डलिंक, भायो नेट, टिपी लिंक, सुविसु, टेकमाइन्ड लगायत नौ ओटा इन्टरनेट र दुई वटा केवल टिभी सेवा प्रदायक कम्पनी छन् । मासिक रुपमा ग्राहकबाट महङ्गो शुल्क उठाउने यी कम्पनी र सुर्खेत प्रशासनले तार व्यवस्थापनमा चासो दिएको छैन् । वीरेन्द्रनगरको सुन्दरता क्रुपमा त बदलिएकै छ दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

सडकका दुई किनाराबाट विस्तार गरिएका विद्युत पोलमा राखिएका तारले विजुलीको लाइनमा असर परेको छ । केही समय अघि आएको हावाहुरीले इन्टरनेट तथा केवल टिभीका तारलाई अस्तव्यस्त बनाउँदा पैदलयात्रीहरुलाई थप समस्यामा भएको छ । तारकै कारण सडकका छेउछाउमा सहज हिड्डुल गर्ने अवस्था छैन ।

भित्रि सडकहरुमा अव्यवस्थित तारकै कारण ठुला सवारीका साधनहरु छिर्ने सक्ने स्थिति छैन । एकातिर विद्युतका तार अर्को तिर अव्यवस्थित नेटका तारले हैरानी व्यर्होनु परेको वीरेन्द्रनगर–४, की सिता सुवेदी बताउँछिन् । तारहरु भुइमै छुइने गरी लत्रिदा करेण्ट लाग्छ कि भन्ने डर लाग्ने गरेको उनको भनाई छ ।

कुनै–कुनै ठाउँमा त तारकै कारण पसल, व्यवसाय र घरभित्र जाने बाटो पनि छेकिएको छ । यो समस्या हटाउन प्रयास भने नभएको होइन । वीरेन्द्रनगरमा अव्यवस्थित तारहरुले शहरी सोन्दर्यता घटाएको र दुर्घटनासमेत घटेको निस्कर्ष निकाल्दै गत वर्ष भदौं २९ गते जिल्ला प्रशासन कार्यालय सुर्खेतले जमिनबाट कम उचाईमा रहेका, लत्रिएका, प्रयोग नभएका अनावश्यक तारहरु हटाई जमिन खाली गराउने निर्णय गरेको थियो । तर, यो निर्णय अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन ।

यस्तै, इन्टरनेट तथा केबुल नेटवर्क सेवा प्रदायकहरुले नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमसँग समन्वयविना तारहरु जडान गर्न नदिने निर्णयसमेत भएको थियो । यो निर्णय पनि कार्यान्वयन भएको देखिदैन । नेपाल टेलिकम र विद्युत प्राधिकरणले प्रयोग नभएका र प्रयोग भई जमिनमै छाडिएका पोलहरुको तत्काल उपयुक्त तरिकाले व्यवस्थापन गर्नु पर्ने निर्णयमा उल्लेख छ ।

गत असोज ६ गते नै टेलिकमका कार्यालय प्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत प्राधिकरण, हुलाक निर्देशनालय र सेवा प्रदायकहरुको प्रतिनिधि सम्मिलित टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गर्ने निर्णय गरिएको थियो ।

उक्त प्रतिवेदन पनि हालसम्म पेश हुन सकेको छैन । जसले समस्या समाधानमा सुर्खेत प्रशासन चुकेको देखिन्छ । सहायक प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद पाण्डेले हावाहुरीका कारण समस्या आएको स्वीकार्दै भने, ‘तपाईले भनेको ठिक हो । केही समय अघि आएको हावाहुरीले इन्टरनेट लगायतका तारहरुमा क्षती पुगेको छ ।

हामी यसको समाधानका लागि समन्वय गरि रहेका छौं ।’ यस अघि भएको निर्णयका बारेमा आफूलाई कुनै पनि जानकारी नभएको र प्रतिवेदन पनि नआएको पाण्डेको बताउँछन् । आफूहरुले प्रयोग गर्ने फाइवरको लाइन एउटै हुने भएकाले बाहिर आए जस्तो नभएको टेलिकम कार्यालय सुर्खेतका प्रमुख सन्तोष शर्माले बताए । उनले भने ‘हामीले प्रयोग गरि रहेको फाइवरमा एउटा मात्रै तार हुन्छ । धेरै तारहरु भएका प्राय ठाउँहरुका तारहरु व्यवस्थापन गरि सकेका छौं, बाँकी रहेका ठाउँहरुमा चाँडै काम सम्पन्न गर्नेछौं ।’

तपाईको प्रतिक्रिया