वीरेन्द्रनगरको ईत्राममा २०२१ सालमा जन्मिएका हुन् प्रध्यापक डाक्टर डम्वर खड्का । त्यो बेला सुर्खेत उपत्यकामा औलो उन्मूलन नभएका कारण प्रायः बसाइँ कटकुमा हुन्थ्यो । दिनभर उपत्यका झरेपनि रातीको बसाइँ कटकुवा नै हुन्थ्यो । दिउँसोमा खेतीपातीको काम गर्न उपत्यका झर्ने चलन थियो ।
स्कुल यात्रा
२०२५ सालमा वीरेन्द्रनगरमा रहेको ईत्राम स्कुलबाट अक्षर चिनेका हुन् खड्काले । कक्षा दुईसम्म उनले यहीँ स्कुलमा पढे । बाँकी अध्ययनका लागि दिदी भिनाजू दैलेख सदरमुकाम बस्ने गरेकाले उनी त्यहीँ पुगे । ‘मेरो चकचके स्वभाव थियो, आमाले यहाँ आफैसँग राख्दा छोरा विग्रिन्छ भन्ने डरले दैलेख पठाइदिनुभयो,’ खड्काले बाल्यकालको यात्रा स्मरण गराए । कक्षा तीन दैलेखमा पढेका उनले दिदी भिनाजुको प्रेरणाले होला कक्षामा तेस्रो स्थान हासिल गरे ।
एक वर्षको दैलेख बसाइँपछि उनी पुनः वीरेन्द्रनगर झरेर नेवारे स्कुलमा कक्षा चारदेखिको अध्ययन शुरु गरे । ‘त्यतिबेला बजार क्षेत्रको माहोल राम्रो थिएन्, नेवारे पढ्दा एकान्त वातावरणमा राम्रो शिक्षा पाइने भएकाले पनि बुबाआमाले नेवारेमा पढाउनुएको हो,’ खड्का भन्छन्, ‘चनौटेमा रहेको स्कुल पछि नेवारेमा सारियो । कक्षा सातसम्म त्यहीँ पढे ।’ बाँकी एसएसीसम्मको पढाइ खड्काले जनमाविबाट पूरा गरेका हुन् । २०३६ सालमा एसएलसी दिएका उनले ८५ प्रतिशत ल्याएर उर्तिण भए ।
‘लाजको पुकार’ नामक नाटकमा हिरो
एसएलसी पछि उनीसहित साथीहरुले इत्रामा नजिकै बाल पुस्तकालय सञ्चालनमा ल्याए । पुस्तकालयसँगै उनको यो टोलीले साँस्कृति कार्यक्रम शुरु गर्याे । धेरै पटक उनले अभिनय गरेको नाटक देखाइन्थ्यो । ‘लाजको पुकार’ नामक नाटकमा उनी हिरो बनेका थिए । नाटकमा माया प्रितिका विषयमा समाजले हेर्ने केटीप्रतिको धारणासँग सम्बन्धित रहेको समाजिक जनचेताना मूलक नाटक थियो । केही समयपछि खड्कासहितको टोलीले अभिनय रहेको नाटक राजा स्व. वीरेन्द्रलाई बुलबुलेमा देखाएको स्मरण गराए । सर्वाधिक रुचाइएको नाटक विद्यार्थी जीवनको यादगार रहेको खड्का सम्झन्छन् ।
स्व.राजा वीरेन्द्रसँगै वृक्षारोपण
गाेठीकाँडा र कटकुवा क्षेत्र उजाड थियो । उपत्यकामा बस्तीको विकास पूर्ण रुपमा भइनसक्दा बस्ती त्यहीँ थियो । औलो उन्मूलनपछि त्यहाँको बस्ती खाली गरेर २०३३ सालमा वृक्षरोपण गर्ने कार्यक्रमको आयोजना स्व. राजा वीरेन्द्रले गरेका थिए । करिब एक महिनासम्म त्यो क्षेत्रमा वृक्षारोपण गरिएको थियो । एक जनाले झण्डै पाँचसय विभिन्न प्रजातिका विरुवा रोपण गरिएको खड्काले बताए । पछि उनीसहितको टोलीले लाटिकोइलीमा पनि वृक्षारोपण कार्यक्रममा श्रमदान गरेको थियो । हिजो उजाड रहेका ठाउँमा अहिले हरावराहुँदा ति क्षेत्रमा पुग्दा अहिले आफूलाई गर्व लाग्ने गरेको खड्का बताउँछन् ।
दाजुको प्रेरणाले स्वास्थ्य क्षेत्रमा प्रवेश
एसएलसी पास गरेपछि दाजु पूर्णबहादुर खड्काकाे भाईलाई स्वास्थ्य क्षेत्रमा प्रवेश गराउने योजना थियो । घरको आर्थिक अवस्था मजवुत थिएन् । ‘दाजु राजनीतिमा लागि सक्नु भएको थियो । बजारमा रहेको घरबाट आउने भाडाले प्रयाप्त थिएन् । दाजुलाई नै पढ्न र उहाँको खर्च ठिक्क थियो ।
काठमाडौँ गएर पढ्दा खर्च पुग्न गाह्रो थियो,’ खड्काले भने, ‘घरमा अन्य आम्दानी अन्य स्रोत थिएन् । खेतीपातीबाट उब्जिनी भएको अन्न बेचेर बाँकी खर्चको जोहो गर्नु थियो । तर दाजुले आफै पढ्दै, स्कुलमा पढाउँदै गरेर मलाई सिएमए पढाउनु भएको हो ।
२०३९ सालमा अस्थायी जागिर
सीएमए पासपछि उनी पहिलो पटक २०३९ सालमा विर अस्पतालमा अस्थायी जागिर यात्रा शुरु गरे । देशकै जेठो अस्पतालमा प्रख्यात विशेषज्ञ टोलीसँग काम गर्ने सौभाग्य खड्काले पाए । शुरुमा उनले बिरामीहरुलाई औषधी दिने जस्ता काम गर्न थाले । सानैदेखि डाक्टर बन्ने ईच्छा लगभग उनको पूरा हुने लयमा थियो । अस्पतालमा काम गर्ने र बाँकी समयमा उनले साईन्स पढ्न आइएस्सी अध्ययन शुरु गरे । तर पढाइ सफल भएन उनले हिम्मत हारेनन् पुनः काठमाडौंकै महाराजगञ्जमा अधूरो पढाइ पूरा गरे ।
२०४० सालमा उनको स्थायी जागिर यात्रा शुरु भयो । जागिरसँगै अध्ययन अघि बढाएका उनले एचए पास गरे । २०४५ सालमा सुर्खेत आएर एचएमा पनि स्थायी भए । शुरुमा कालीकोटको राँचुलीमा पुगेर कामको गरे । करिब आठ महिना काम गरेपछि २०४५ सालमा पुनः वीर अस्पतालको ईमरजेन्सीमा काम गरेको खड्का बताउँछन् ।
अप्रेशन गर्दै आफै रगत दिँदाको क्षण
त्यो बेला उनले त्यहाँ करिव तीन वर्ष काम गरेपछि छात्रवृत्तिमा एमविविएस पढ्न रसिया पुगे । सात वर्ष रसियामा बसेर पढ्दा उनको कार्यअनुभव पेचिलो बन्यो । एमविविएस पास गरेपछि २०५५ सालामा नेपाल फर्किएर शिक्षण अस्पतालमा काम थाले । तीन महिना त्यहाँ काम गरेपछि उनी सुर्खेत जिल्ला अस्पतालमा आएर काम गर्न शुरु गरे । डा.भोलासहितको टिमसँग उनले काम गरे । २०५६ सालमा एमविविएसमा स्थायीमा नाम निकाले ।
सेवाको शिलशिलामा सुगम र दुर्गम क्षेत्रको कार्यअनुभव बटुली सकेको उनले काम सिक्ने अवसर राम्रो मिल्यो । अस्थायीहुँदा नै मेडिसन कक्षाका अप्रेसनका कामहरु उनले सिकिसकेका थिए । बिरामीको विश्वास लिन उनी कामप्रति कहिल्यै कार्यवोझ मानेनन् ।
अप्रेसनकै क्रमम अत्यधिक रक्तश्राव भएको महिलाको ज्यान जोगाएको उनी सम्झन्छन् । अप्रशेनका क्रममा उनले रगत दिँदै अप्रेशन गरेको क्षण उनीसँग छ । जिल्ला अस्पतालमा अप्रेसन गर्ने डाक्टर आफूमात्रै भएकाले पनि अधिकाँश अप्रेसनको केस उनी हेर्थे । हर्निया, हाईड्रोसिल, आन्द्रा फुटेकोदेखि लिएर, पाठेघर निकाल्ने जस्ता धेरै सबै अप्रेसन उनले गरे ।
अस्पतालको स्वरुप बदल्ने सोच
प्राध्यापक डाक्टरको उपाधि पाएपछि उनी पुनः सुर्खेत फर्किए । उनी सुर्खेत आइपग्दा जिल्ला अस्पताल क्षेत्रीय अस्पतालमा रुपान्तरण भइसकेको थियो । तत्कालिन क्षेत्रीय अस्पतालमै चार/पाँच वटा मेडिकल सुपरिटेण्डन कार्यरत थिए । खड्काको सानैदेखिको बानी भनेको सरसफाइमा विशेष ध्यान दिने थियो । घरमा पनि अभिभावकहरुले सरसफाइमा विशेष ख्याल गर्ने भएकाले डाक्टर नै बनाउनुपर्छ सोच थियो ।
घरमा विरामी पनि धेरै भइरहेन र आमाबुबाले एउटा छोरालाई डाक्टर पढाउँनु प¥यो भनिराख्नु भएको थियो । दाजुको प्रेरणाले त्यो सपना पूरा गरे । दाजु (पूर्णबहादुर खड्का) मागदर्शनले त्यो स्थानमा पुग्न सफल भएको उनी बताउँछन् । मेडिकलमा पढ्ने विद्यार्थीहरू चाहीँ धेरै मेहनती हुनुपर्छ र पढाइलाई निरन्तरता दिइराख्नुपर्ने सुझाव उनको छ । सरसफाईलाई बढी ध्यान दिँएकै कारण अस्पताललाई पनि सफा र स्वच्छ राख्ने नीति अपनाए ।
अस्पतालमा शौचालयबाट यसको शुरुवात गरे । अस्पतालको प्रमुख नहुँदा पनि अस्पताललाई सरसफाइमा स्तरिय र सेवा प्रभावकारी बनाउनुपर्छ भन्ने ध्यान केन्द्रित गर्थे । स्व. सिनियर डा. हरि सापकोटा तीन महिना बिदामा बस्नु भयो ।
तत्कालिन अध्यक्ष खम्मराज थानी दाजुले अस्पतालको जिम्मेवारी सम्हाल्ने प्रस्ताव गर्नु भएको हो, मैले नाई भनिन्,’ उनी भन्छन्, ‘तर अस्पतालको विकास गर्नमा स्तरिय सेवा प्रदान गर्न विना दबाब काम गर्न दिनुहुन्छ भने काम गर्छु भनेको थिए । उहाँले हुन्छ भनेपछि त्यो बेला म दशौं तहमा थिए । निमित्त प्रमुख भएर अस्पतालको जिम्मेवारी काँधमा बोके ।’ प्रमुखको जिम्मेवारी पाएपछि स्तरिय अस्पताल बनाउन हरदिन खटिए । सीमित स्रोत साधनको सही सदुपयोगबाट पुराना र खिया लागेका बेडहरूलाई व्यवस्थित गरे ।
जन्म ठाउँमै केही गर्न विदेश गइन
काम गर्ने क्रममा यतिसम्म पढेको मान्छे के नेपालमा बसेको विदेश जानुपर्छ भन्ने दवाव पनि थियो । उनले रुपैयाका लागि बाहिर जानुभन्दा आफ्नै ठाउँमा राम्रो काम गर्ने सोचका साथ धेरै समय सुर्खेतमा विताएको बताउँछन् ।
‘सानैदेखिको सोच जन्मेको हुर्केको ठाउँमा नै काम गर्नुपर्छ भन्ने थियो । त्यसैपनि म बाहिर नगएर यहीँ काम गरे,’ उनले भने । अस्पतालको बजेट करिव चार करोडको हाराहारीमा थियो । अस्पतालमा पारदर्शी काम नभएको पाए ।
घाटामा अस्पताल चलिरहेको थियो । अस्पतालका लागि ल्याएको सामानहरु बढी मूल्यदर पाए । पसलमा गएर बुझ्दा तीन लाख बढी थपिएको रकम ब्यहोर्न लगाए । अन्तत अस्पतालको हितमा काम गर्न र आर्थिक पारदर्शीता कायम राख्ने कामको शुरुवात यहीँबाट गरेको हुन् ।
घाटामा रहेको अस्पतालको स्रोत बढाएर उनले हाल १५ करोड बढी अम्दानी बढिरहेको छ । आर्थिक पाटोबाट अस्पताल बलियो बन्दै गयो । घर परिवारभन्दा बढी समय अस्पतालको विकासमा लाग्दा कहिलेकाहीँ घरमा झगडा पनि पर्छ । गल्ती मेरो नै हो, प्रदेशकै नमूना अस्पताल बनाउने बाटोमा लाग्दा परिवारमा समयनै दिन सकिदो रहेन्छ ।
सुधार गरिएका अस्पतालका सेवाहरु
न्युरो, स्पाईन्, जनरल सर्जरी, आई, इन्ट्रो, अपगाईनी, अर्थोपेडिक, डेन्टल, प्याथोलोजिक, क्यान्सर, स्किन चर्मरोग, सीटीस्क्यान् लगायतका सेवाहरु प्रदेश अस्पतालले दिइरहेको छ । मुटु र मृगौला सम्बन्धी सेवा शुरु गर्ने अभियानमा खड्काको जोड छ । विभागले स्वीकृत दिएमा आगामी कार्तिकदेखी मृर्गौला प्रत्यारोपण गर्न सेवाको विस्तार गर्दैछौं ।
यी दुई सेवाको सुरुवात भएमा काठमाडौंमा दिइरहेका सेवाहरु कर्णालीबाटै दिन सक्ने संरचना तयार छ । हाल अस्पतालमा सिटी, दुईवटा एम्बुलेसन, एमआरआई आउँदैछन् । यी सबै सेवाको शुरुवात दाजु पूर्णबहादुर खड्काकै सहयोगमा सफल भएको हो । अस्पतालमा थप सेवा विस्तार गर्न दाईको सहयोगमा बजेटको व्यवस्थापन समेत भएको छ ।
रेष्टुरेन्ट र हेलिप्याडसहितको अस्पताल विस्तारको तयारी
दुई सय ५० बेड सञ्चालनरत अस्पतालमा हाल २५ वटा ईमेरजेन्सी बेड छन् । थाेरै संरचनामा पनि अस्पताल देशकै नम्बर एक अस्पताल बनिसकेकाे छ । सरसफाइ, विरामी तथा कुरुवालाई भाेजन, अस्पताल लगायत सेवामा उल्लेख्य प्रगति अस्पतालले सुधार गरेका राम्रा पक्ष हुन् ।
पाँच सय बेडको बनाउने तयारी गरिएको छ । यो महिना भित्र टेण्डर आह्वान गरेर अस्पताललाई थप व्यवस्थापन गर्ने योजना रहेको खड्काले बताए । पाँचसय सैयाको अस्पताल निर्माणपछि टपमा रेष्टुरेन्टसहित हेलीप्याड रहनेछ । अन्य अप्रेशन कक्षहरु थपसँगै क्लिनिक चलाउने योजना छ । यी सेवा सुविधा थपिएपछि घर आगनको अस्पताललाई फाइदा पुग्नेछ ।
अस्पताल पुग्ने विरामी र कुरुवाहरुले गुणस्तरिय, भरपर्दो र स्वच्छ वातावरणको सेवा खोजिरहेका हुन्छ । सेवाग्राहीलाई यी सेवा प्रदान गर्नमा हरबखत खटिने मात्रै मेरो चाहाना हो । सबैको साथ र समर्थनका कारण आज प्रदेश अस्पतालको स्वरुप बदलिएको छ । ‘म बुढेसकालमा विरामीहुँदा उपचार गर्न बाहिर जान नपर्ने गरी यहीँ अस्पतालमा उपचार गर्न पाउँ भन्ने उद्देश्यको अस्पताल बनाउनेगरी काम गरिरहेको छु,’ खड्का भन्छन्, ‘बिरामीहरुले पनि यो हाम्रै ठाउँ हो । यी नी हाम्रै डाक्टर हुन्, भनेर चिनुन् ।’
आफुले उपचार गर्ने बेड र आम जनताले उपचार गर्ने बेड र सेवा सुविधा एउटै बनाउन रात खटिएको खड्का बताउँछन् । प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने योजना यहीँ आर्थिक वर्षबाट कार्यान्वय गर्ने सोचमा छु । प्रदेश सरकारले प्रतिष्ठानको रुपमा विकास गर्नेगरी तयारीमा छ ।
हाम्रा यहाँका कर्मचारी पनि यहीँ रहुन् र अस्पताललाई सफल बनाउने पनि कर्मचारीले नै हो । १५ वर्ष पहिलाको वीर अस्पतालको र हालको वीर अस्पतालमा धेरै फरक छ । कर्णालीमा हामीले चाहेको पनि वीर अस्पतालको जस्तै सेवा हो । बिरामीलाई खर्च पनि कम लागोस् र सेवा पनि राम्रो दिन सकिने बनाउने मेरो योजना हो ।
शिक्षण अस्पतालको सेवा सुरुवात भएमा जिल्ला–जिल्लामा रोटेशनका आधारमा दुई÷तीन महिनाको काम गर्न खटाउनुपर्छ भन्ने योजना छ । यसले बिरामीहरुको धेरै चाप भएका जिल्लाहरुमा डाक्टरहरुलाई पठाउँदा जिल्लामा गुणस्तरीय सेवासँगै अन्यलाई काम सिकाउन सहज हुन्छ । हाम्रो यो सन्देश गाउँ–गाउँमा पुगोस भन्ने छ ।
ओम शाही । २०७९ श्रावण ३, मंगलवार