कुमारले ४ मिनेटमै चित्रण गरेको फरक समुदायको कथा

सुर्खेत । कहिले काही मानिसको जीवनमा रुचि एकातिर हुन्छ भने परिस्थितीले अर्को मोड लिइदिन्छ। त्यस्तै भएको छ दैलेखका कुमार रेग्मीलाई। जिल्लाको नारायण नगरपालिका–६ का रेग्मीको सानैदेखिको रुचिको क्षेत्र साहित्य थियो। स्कुले जीवनदेखि नै साहित्य रचना अर्थात गीत संगीतमा शब्द भर्ने बेग्र रुची राखेका रेग्मीको पारिवारिक जिम्मेवारीले बाटो बदल्नु पर्ने स्थिती आयो।

मध्यम वर्गिय किसान परिवारमा जन्मिएका रेग्मी उमेरसँगै थपिएको जिम्मेवारीले गीतमार्फत मनका बेदना पोख्न चाहन्थे। तर, परिस्थीतले उनलाई सरकारी जागिरे बनाई दियो। दैलेखको भाषा पाठशालाबाट प्रारम्भिक शिक्षा सुरु गरेका कुमारले २०५३ मा दैलेखकै त्रिभूवन उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरी उच्च शिक्षाका लागि सुर्खेत झरे।

उति बेला टेलिभिजन र मोवाइल आइ सकेका थिएनन्। गीत संगीत सुन्नका लागि रेडियो नेपाल उनको सारथी थियो। रेग्मी कविता पनि लेख्थे। उनले लेखेका कविताहरु रेडियो नेपालको ‘साहित्य सेरोफेरो’ कार्यक्रममा खुब बज्थे। उच्च शिक्षाका लागि सुर्खेत झेरपछि रेग्मीले माया पिरतीका शब्दहरु गीतमा जोड्न सुरु गरे।

भनिन्छ नि! साहित्य बिनाको जीवन हुँदैन। जब साहित्यमा जीवन लाग्दछ समाजमा रहेका हरेक कुराप्रति सकारात्मक सोचको भावना जागृत हुन्छ। लेखन र पढाईलाईसँगै लिएका रेग्मी २०६१ सालमा सरकारी जागिरमा प्रवेश गरे। जिल्ला प्रशासन कार्यालय दैलेखमा खरिदारको पदमा उनको पहिलो पोष्टिङ्ग भयो। जागिर एका तिर थियो भने रुचि एर्का तिर। उनीसँग त्यति समय हुँदैन थियो। बचेको समयमा रेग्मीले गीत मात्र लेखेनन् संगीत पनि सिके।

‘सानैदेखिको रहर, उती बेला मोवाइल र टेभिभिजनको जमाना थिएन। रेडियो नेपालका विभन्न कार्यक्रमहरु सुन्ने गर्थे। त्यहिबाट गित लेख्ने सुन्ने, गुनगुनाउने गर्थे।’ रेग्मी सम्झन्छन, ‘पारिवारिक जिम्मेवारीले जागिरमा प्रवेश गरेपछि लेखन केही सयम रोकियो।’ मध्यय परिवार, खान बस्न पढ्न, लेख्न जेनतेन पुग्थ्यो, ४ भाई बहिनीमध्ये उनी जेठा भएकाले पनि उनलाई पारिवारिक बोझ थियो।

‘जीवनलाई रंगिन रमाइलो बनाउनु पर्छ। मनका बेदना गीतमार्फत पोख्नु पर्छ खुशी हुन सिक्नुपर्छ भनेर संगित रोजेको।’ उनी भन्छन्, ‘आजभोली आफै लेख्ने, संगीत भर्ने गाउने गरेको छु, स्वरमा गीत भने निकालेको छैन, आगामी दिनहरुमा आफ्नै स्वरमा गीत रेकर्ड गर्ने सोचमा छु।’ जागिरसँगै संगीत र साहित्य अगाडि बढाउन नसकेकाले व्यवसायीक रुपमा सांगितीक क्षेत्रमा जम्न भने उनले सकेका छैनन्।

सरकारी कामकाजका कारण रेग्मीले गीत संगीतलाई छुट्टै फुर्सदको पाटो बनाएका छन्। पढाई र जागिरको दौरानमा लेखिएका पे्रमिल गीतहरु बजारमा ल्याउने उनको धोको भने २०७७ मा पुरा भयो। जीवनमा पहिलो पटक रेग्मीका शब्द र चर्चित आधुनिक गायक प्रमोद खरेलको आवाजमा ‘मायाँ गर्दा’ बोलको गीत बजारमा आयो। रेग्मी गीतमा शब्द भर्ने मात्र होइन संगीत र अभिनय पनि गर्छन।

पछिल्लो समय बजारमा आएका म एक्लो छु र सिमल फुलेको गीतमा अभिनयसमेत उनले गरेका छन्। मायाँ गर्दा, दुखारी मन, भाग्य, म एक्लै छु बोलका आधुनिक गीत र सिमल फुलेको लोकदोहोरी गीत बजारमा आइ सकेका छन्। उनले सिर्जना गरेका गीतहरु स्रोतामाझ लोकप्रियसमेत बनेका छन्।

उनले भरेका शब्दहरुमा प्रेमी प्रेमिका बिचको मिलन बिछोडका जिवन्त कथाहरुको परिकल्पना गरिएका छन्। तर, उनले यी गीतहरु भने हालसालै लेखेका होइनन्। जागिरमा प्रवेशअघि र केहीपछि लेखिएका शव्दहरू हुन्। जागिरका कारण समय दिन नसकेका कुमारले त्यसपश्चात ति गीतहरुका शब्दहरुमा परिमार्जित गरी बजारमा ल्याएका हुन्। लकोप्रिय गायक स्वरुपराज आचार्यको स्वरमा बजारमा आएको म एक्लै छु बोलको गीत टिकटकमा भाइरलसमेत बनेको छ।

गीतको भिडियोले बेग्लै कथा बोकेको छ। रेग्मीका शब्द र अभिनय रहेको उक्त गीतमा जीवनमा सबै कुरा पाएर पनि मन मिल्ने सारथी नभेट्दा आफैंमा एक्लिएको लैङ्गिक तथा यौनिक अल्पसंख्यक पात्रको कथा समेटिएको छ। समाजले अस्तित्व स्वीकार नगर्दा र राज्यले नागरिक अधिकार प्रत्याभूत नगर्दा दोहोरो मारमा परेका आम लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको यथार्थपरक कथा भिडियोमा देख्न सकिन्छ।

संगीत मुलतः मनोरञ्जनको माध्यम हो। तर, यदी संगीतले खास विचार र मुद्दालाई पनि बोकेको छ भने त्यसले समाजमा नयाँ बहसको सिर्जना गरिदिन सक्छ। यो गीतले पनि धेरै हदसम्म संगीतमार्फत वैचारिक मुद्दाको उठान गरेको छ। लैङ्गिक तथा यौनिक अल्पसंख्यक पात्रको भोगाई, हिडाई, लवाई, खवाईलाई गीतमा समेट्ने प्रयास गरीएको छ। यो समूदायका मानिसहरुले कस्तो जीवन बाँचिरहेका छन् भन्ने अँध्यारो पाटोलाई गीतले प्रस्तुत गरेको छ।

यस्तो छ भिडियो

साहित्यको माध्ययमबाट समाजलाई शब्दमा उतार्ने रेग्मीका ३ वटा गीत रेकर्ड हुने क्रममा छन्, भने नयाँ वर्षमा नयाँ एल्बम बजारमा आउने क्रममा छ। उनका गीत संगतीमा स्थानीय कलाकार स्थानीय स्रोत साधनको प्रयोग भएका छन्। जसले कलाकारितामा भविष्य खोज्ने हरुका लागि अवसर पनि बनेको छ।

उनले गीत संगीतलाई व्यवसायिक अर्थात नाफा, घाटाभन्दा पनि आत्मसन्तुष्टि र मौलिक कला सस्कृति संरक्षण र प्रवद्र्धनका रुपमा लिने गरेका छन्। हाल कुमार कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा लेखाअधिकृतको रुपमा कार्यरत छन्।

तपाईको प्रतिक्रिया