बालक मृत्यु प्रकरण

पीडित परिवारद्वारा आन्दोलन स्थगित, अनुसन्धानमा सहयोग गर्ने बचन

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको गेट अगाडी बालकलाई ठक्कर दिएर फरार मोटरसाईकल र चालकलाई खोज्नमा पीडित परिवारले समेत साथ दिने भएका छन् । पीडित परिवारले आजदेखि आन्दोलन चर्काउने तयारी गर्नु पूर्व नै सुरक्षा निकायको आस्वस्तपछि तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिइएर अनुसन्धानमा सहयोग गर्ने बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीसहितको सुरक्षा टोली पीडित परिवारको घर पुगेर फरार मोटरसाईकल र चालकको खोजी नजिक पुगिसकेकाले तत्काल आन्दोलन नगर्न पीडित परिवारलाई अपिल गरेका थिए ।

पीडित परिवारले बिहीबार दिउँसो वीरेन्द्रनगर नगरपालिकाको बाँगेशीमलमा विरोध सभाको आयोजना गर्दै तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता गर्ने निर्णय गरेको युवा नेता तथा समाजसेवी दिनेश खत्रीले जानकारी दिए ।

‘पीडित परिवारसहित आफन्तहरुले केही बेर बाँगेशीमलमा प्रदर्शन गरेर प्रहरी अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन्,’ खत्रीले भने, ‘फरार मोटरसाईकल र चालक पक्राउ नपर्दासम्म परिवारले आन्दोलन नगर्ने र पक्राउपछि दबावमुलक आन्दोलन गर्ने निर्णय गरेका छन् ।’

पीडित परिवारले पक्राउपछि कारवाही लागि दबाव र क्षतीपूर्तिका लागि आन्दोलन गर्नेगरी आजदेखि विरोधका कार्यक्रम फिर्ता लिएको खत्रीको भनाई छ ।

मंगलबार साँझ वीरेन्द्रनगर–१ बाँगेशीमलका तीन वर्षीय बालक समिर नेपालीलाई जिल्ला प्रहरी कार्यालयको गेट अघि मोटरसाईकलले ठक्कर दिएको हो । ठक्कर लगत्तै मोटरसाईकलसहित चालक फरार छन् । बालकको भने उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमै मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया