१० वर्षदेखि रोकिएको घण्टाघरको सुई चलाउनु छ : मेयरका उम्मेद्वार गिरी

सुर्खेत । सुर्खेतका प्रमुख पर्यटकीय स्थलमध्य एक हो घण्टाघर । वीरेन्द्रनगर–६ मा रहेको घण्टाघर चीन सरकारको सहयोगमा २०४५ सालमा निर्माण गरिएको हो । घण्टाघर घुम्न पुग्ने सयौं पर्यटकहरुलाई त्यहाँ रहेका चार वटा घडीले कहिल्यै सही समय देखाउँदैन् । घण्टाघर हेर्न आउने पर्यटकहरु टावरमा चढेर उपत्यका नियालेर खिन्न भएर बाहिरिन्छन् र प्रश्न गर्छन, ‘यति राम्रो उपत्यका नियाल्न शिर चढाउने घण्टाघरको सुईले कहिले समय देखाउँला ?’

स्थानीय तहको निर्वाचन मिति नजिकिदै गर्दा विभिन्न दलका उम्मेद्वारहरु संकल्पपत्रदेखी, प्रतिवद्धतापत्रमा वीरेन्द्रनगर कायापलट पार्ने योजनाहरु समावेश गरेर मत माग्न मतदाताको दैलो पुगिरहेका छन् । तिनै उम्मेद्वारमध्य एक हुन् राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट वीरेन्द्रनगरको मेयर पदका उम्मेदवार मुकुन्दश्याम गिरी ।

अन्य दलहरुले कमोजर उम्मेद्वार ठानेका गिरी भने मतदाताको घरदैलोमा पुगेर वीरेन्द्रनगरका साना विषय सुधार्ने वचनदिँदै भोट मागिरहेका छन् । मतदाताको दैलोमा पुग्दै गर्दा उनलाई अधिकाँश मतदाताले १० वर्षदेखि रोकिएको घण्टाघरको घडि कहिले चल्ने गराउनु हुन्छ भन्ने प्रश्न गरेपछि गरीको जवाफ छ, ‘आफूलाई निर्वाचित गराएमा घण्टाघर क्षेत्रलाई व्यवस्थित गर्नुका साथै पहिलो प्राथमिकता दिएर घडि ल्याएर जडान गर्ने प्रतिवद्धता प्रकट गर्दछु ।’

सुर्खेतको पहिचान बनेको घण्टाघर र त्यहाँ भित्रको घडि अलपत्र परेको विषय उम्मेदवार गिरीलाई थाहा नभएको भने होइन । तर, मतदाताले गिरीलाई सुर्खेत पहिचान गराउने घण्टाघरको घडीको सुई चलाउन अपिल गरिरहेका छन् । राजा वीरेन्द्रको पालामा भेरी नदीमा पुल बनाउदा बचेको निर्माण सामग्रीबाट उपहार स्वरुप चिन सरकारले घण्टाघर निर्माण गरिदिएको हो । १० वर्षदेखि घण्टाघरको घडिले दुई पटक भन सत्य समय बताउँछ । त्यो हो विहान र राती १० बजेर ५० मिनेट । तर यो समय पनि घडी चलेर होइन घडीको सुई त्यहीँ समयमा विग्रेर रोकिदा हो ।

घण्टाघरमा रहेको घडिलाई चलायमान गराउन आँगनमा रहेको नगरपालिका कार्यालयले चासो दियो नत प्रदेश सरकारले । प्रदेश सरकारले पर्यटकिय पूर्वाधार क्षेत्रमा करोडौं लागनी गरेको भएपनि वीरेन्द्रनगरको मुख्य पर्यटकिय क्षेत्र घण्टाघरलाई व्यवस्थित नगराएकोमा नागरीकहरु रुष्ट छन् । नागरिकहरुले गिरीलाई मात्र नभएर अन्य दलका उम्मेदवारहरुलाई पनि यो प्रश्न सोध्ने गरेका छन् ।

वीरेन्द्रनगर–५ का रामबहादुर भण्डारीले नेपालीरैवारसँग प्र्रश्न गरे ‘सुर्खेतलाई नै चिनाउने मुख्य धरोहर घण्टाघरको विकासमा ध्यान नदिनु यो भन्दा लजास्पद के होला’ घरदैलोमा रहेका गिरीले समृद्ध वीरेन्द्रनगरका लागि अबको मेयरमा आफूलाई खोजेको बताए ।

१७ वर्षअघि वीरेन्द्रनगरको मेयर बनेका गिरी फेरी पनि मेयर पदका उम्मेदवार बनेका हुन् । वीरेन्द्रनगरको मेयरमा तपाईको उम्मेदवारी किन भन्ने नेपालीरैबारकर्मीको प्रश्नमा गिरीले भने ‘फेरी पनि वीरेन्द्रनगरले मलाई खोजेको छ । म मेयर भएदेखि पछाडिका १७ वर्षमा कुनै नयाँ परिवर्तन भएको छैन । मेरै पालमा भएका परिवर्तनका प्रयासहरुले आजसम्म पनि पुर्णता पाएका छैनन् ।’

उनले १७ वर्षदेखि वीरेन्द्रनगरमा फोहोर थुप्रिएको र वीरेन्द्रनबासीले खानेपानीको चरम अभाव भोगेका समस्या जस्ताको तस्तै रहेको उल्लेख गरे । ‘सकडक पूर्वाधार तथा ढल निकास अस्तव्यस्त अवस्थामा छन् । स्वास्थ्य तथा शिक्षामा व्यापक परिवर्तन गर्नुपर्ने छ,’ गिरीले भने, ‘यी लगायत वीरेन्द्रनगरलाई व्यवस्थित बनाउन गुरुयोजना निर्माण गरी हरित सहरका रुपमा बदल्न अरुबाट सम्भव नभएका कारण भ्रष्टाचार मुक्त, सुसाशनरहित समृद्ध वीरेन्द्रनगर निर्माणका लागि नगरवासीले यसपटक मलाई विश्वास गरी जिताउन आवश्यक छ ।’

तपाईको प्रतिक्रिया