वीरेन्द्रनगरको भावी बागडोरबारे चर्चा

गठबन्धन र एमालेबीच भिडन्त हुँदा राप्रपा हावी हुन सक्ने आँकलन

सुर्खेत । स्थानीय तहको निर्वाचन आउन अब ५ दिन बाँकी छ । प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर प्रदेशकै ठुलो नगरपालिका हो । आर्थिक, सामाजिक, प्रशासनिक र राजनीतिक रुपले पनि वीरेन्द्रनगर कर्णालीको ‘इपि सेन्टर’ मानिन्छ । ६७ हजार ५६ मतदाता रहेको वीरेन्द्रनगरको भावी बागडोर कस्ले सम्हाल्ला भनेर चर्चा सुरु भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा वीरेन्द्रनगरको बागडोर सम्हाल्न १३ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । २०७४ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका देवकुमार सुवेदी प्रमुखमा निर्वाचित भएका हुन् । उप–प्रमुखमा नेकपा एमालेका मोहनमाया ढकाल विजयी भएकी थिइन् । २०७४ को निर्वाचन भन्दा याे पटकको निर्वाचन थप रोचक हुने राजनीतिक विश्लेषक बताउँछन् । मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन एवम् राजनीतिक विश्लेषक पिताम्बर ढकाल यो पटक मतपरिणाम फरक हुन सक्ने बताउँछन् ।

वीरेन्द्रनगरबासीले मेयरमा नयाँ अनुहार खोजी रहेको ढकालको टिप्पणि छ । २०७४ को निर्वाचनबाट सुर्खेतमा पहिलो शक्ति बनेको नेपाली कांग्रेसका लागि यसपालिको निर्वाचन सहज नहुने ढकालको बुझाइ छ । ‘कांग्रेस–माओवादीको गठनले प्रभाव पार्न सक्ने भएपनि कांग्रेसको आन्तरिक किचलोका कारण कांग्रेसलाई ठुलो धक्का पुग्न सक्छ,’ ढकाल भन्छन्, ‘पछिल्लो उदाहरण भनेको सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनलाई लिन सकिन्छ ।’

आन्तरिक विवादलाई नमिलाएर एक पक्षिय भएर चुनावमा जानु कांग्रेसका लागि ठुलो धोका हुने ढकालको बुझाई छ । पार्टी भित्रको आन्तरिक विवाद हावी नभई गठवन्धनबाट धोका नभए मेयर पद कांग्रेसका पोल्टामा नजाला भन्न नसकिने उनको भनाई ।

२०७४ मा ५७ हजार मतदाता रहेको वीरेन्द्रनगरमा यसपाली थपिएका १० हजार मतदाता निर्णायक हुने विश्लेषक ढकालको छ । गठवन्धन बनाएको कांग्रेस र एमालेको प्रतिस्पर्धाले कतै राष्ट्रिय प्रजातन्त्र पार्टीले परिणाम उल्ट्याउने त होइन भन्ने प्रश्न पनि उठ्न थालेको ढकालले उल्लेख गरे । नेकपा एमालेलाई भने एकिकृत समाजवादीले कम भोट काटेको खण्डमा र कांग्रेसको हृदयराम थानी पक्षको मत लिन सके मेयर पद हात पार्न सक्ने उनको बुझाइ छ । मेयर पदमा बाजी मार्न कांग्रेसले नेकपा एमाले र वैकल्पिक शक्ति मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग ठुलै भिडन्त गर्नुपर्ने अवस्था छ ।

गठवन्धन बनाएर चुनावमा गएको कांग्रेसले मेयरमा उपेन्द्रबहादुर खड्का र उपमेयरमा माओवादीकी शान्ति ढकाललाई उम्मेदवार बनाएको छ । खड्का कांग्रेसबाट बलिया उम्मेदवार मानिन्छन् । यस्तै वीरेन्द्रनगरमा अर्को ठुलो प्रभाव राख्ने दलहरु मध्ये नेकपा एमाले पनि प्रमुख हुने रणनीतिका साथ चुनावी प्रचारप्रासलाई व्यापकता बनाएको छ । आगामी निर्वाचनका लागि वीरेन्द्रनगरमा कांग्रेस–माओवादी गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको त्रिपक्षिय भिडन्त हुने निश्चित छ । यस अघि उपमेयरको बागडोर सम्हालि सकेकी मोहनमाया ढकाल प्रमुख पद हत्याउने दाउमा छिन् ।

तर, उनका लागि भने यो सहज हुनेछैन । पाँच वर्षको कार्यकाल सकेकी ढकाललाई मेयर पद लिनका लागि प्रमुख चुनौती गठवन्धन छ । यस्तै ढकालको अर्को चुनौती राष्ट्रिय प्रजातन्त्र पार्टी हो । राप्रपाले पनि मेयर पदमा १७ वर्षअघि मेयर पद सम्हाली सकेका प्रभावशाली अनुहार मुकुन्दश्याम गिरीलाई अगाडि सारेको छ ।

पछिल्लो समय जनलहर बढ्दै गएको राप्रपाले पनि मेयर पदका लागि प्रभाव जमाउन सक्ने आँकलन कतिपयको छ । राप्रपा आफ्नो विरासद जोगाउने दाउमा छ । यसका अलवा एमाले फुटका कारण मत विभाजन हुने डर एमालेमा छ । कांग्रेस भित्र मत विभाजन भए ढकालले मेयरमा बाजी मार्र्ने एमालेको बुझाई छ ।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकिकृत समाजवादीले पनि एमालेको भोट काट्ने आँकलन गरिएको छ । पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएको समाजवादीले कति भोट काट्छ भन्न यसै भन्न सकिने अवस्थामा छैन् । आफ्नो विरासत जोगाउन सक्छ की सक्दैन यकिन भन्न सकिने अवस्था भने छैन ।

समाजवादीले धनाकुमारी जिसीलाई मेयर र उपमेयरमा विरबहादुर रावतलाई चुनावी प्रतिस्पर्धामा उतारेको छ । एमालले उपप्रमुखमा पाँच वर्षे कार्यकाल सकेका वीरेन्द्रनगर ४ का निर्वाचित वडाध्यक्ष निलकण्ठ खनाललाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनको मत परिणाम हेर्ने हो भने वीरेन्द्रनगरमा एमालेको मत संख्या बढि देखिन्छ ।

१४ हजार चार सय पाँच मत प्राप्त गरी मेयर पद जितेको कांग्रेसभन्दा एमालेको मत अन्तर करिव पन्ध्र सयले फरक हो । त्यतिबेला उपमेयर जितेको एमालेले दुवै पदमा कुल २९ हजार नौ सय ६७ मत प्राप्त गरेको थियो, भने मेयर पद जितेको कांग्रेसले २८ हजार चार सय ३१ मत पाएको थियो ।

२०७४ को निर्वाचनमा मेयरको बागडोर सम्हालेका देवकुमार सुवेदीले १४ हजार चार सय पाँच भोट ल्याउदै नेकपा एमालेका बालाराम शर्मालाई हराएका थिए । शर्माले १३ हजार ८९९ मत ल्याएका थिए । यस्तै हाल मेयर पदको उम्मेदवार बनेकी मोहनमाया ढकालले १६ हजार ६८ मत प्राप्त गरी नेपाली कांग्रेसकी जानकी सिंहलाई हराएकी थिइन् । सिंहले १४ हजार २६ मत प्राप्त गरेकी थिइन ।

तपाईको प्रतिक्रिया