सुर्खेत । उमेरले चार दशक काटिसकेका सुर्खेतको भेरीगंगा नगरपालिका–४ हर्रेका मानबहादुर वली पेशाले कृषक हुन्। ५ कक्षासम्मको औपचारिक शिक्षा लिएका वलीले आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न पाएनन्।
वलीको बाल्यकाल अभावै अभावमा बित्यो। मध्यमवर्गीय परिवारमा हुर्किएका उनको पुख्र्याैली पेशा कृषि हो। परम्परागत कृषि खेतीबाटै जीविका चलाउँदै आएका वलीको पुख्र्यौली कृषि पेशा आजभन्दा करिव १८ वर्षअघि निर्वाहमुखी थियो। त्यस ताका वली परिवारका गर्जो टार्न मजदुरीका लागि कालापहाड जानुपथ्र्यो।
सल्यानबाट बसाइँ सरेका वलीले आफ्नो परिवार पाल्न सकेजति काम गरे। चार सन्तानका बाउ समेत बनेका उनले २०६० सालबाट व्यवसायिक रुपमा कृषि पेशा सम्हाल्ने निर्णय गरे। उनको यो निर्णयमा परिवारले समेत साथ दियो। पवित्रा कृषि तथा पशुपंक्षी पालन फर्म सञ्चालनमा ल्याएर व्यवसायिक तरकारी खेतिमा उनीसहित परिवारै होमिए।
सुरुमा सोचेअनुसार आम्दानी भएन, तर हिम्मत भने हारेनन्। उतिबेला हर्रेमा तरकारी खेती गरेर मनग्य आम्दानी गर्नु त्यति सजिलो पनि थिएन। सिचाइँको अभाव, उत्पादित वस्तुको बजारीकरण जस्ता विविध समस्याले व्यावसायिक तरकारी खेतीमा सफल हुनेमा शंका रहिरह्यो। वलीको परिवारलाई तरकारी खेतीबाट हौसला त्यतिबेला मिल्यो, जतिबेलादेखि नेपालगञ्ज–सुर्खेत रत्न राजमार्ग नियमित सञ्चालनमा आउन थाल्यो। उनीहरुको दैनिकी फेरियो।
आर्थिक अभावले पढ्न नपाएका वलीको पहिलो धोको थियो, आफ्ना छोराछोरीलाई चाहेजति पढाउनू, तरकारी खेतीबाट आर्थिक अवस्था सुधार्ने रछोराछोरीलाई असल शिक्षा दिने उनको धोको अब पूरा भएको छ।
तरकारी खेतीबाट वलीको परिवारले बर्षमा लाखौं आम्दानी गर्छन्। बर्षमा कम्तिमा सात लाख रुपैयाँ तरकारी बेचेर कमाई हुने गरेको वलीले बताए। उनीहरु बेमौसमी तरकारी समेत उत्पादन गर्छन्। काँक्रा, टमाटर, अदुवा, आलु लगायतका नगदे बाली लगाउँछन्। वलीका चार सन्तान छन्।
उनीहरु सबैले राम्रोसँग पढ्न पाएका छन्। जेठी छोरी संगिता काठमाडौंमा क्यामेस्ट्रीतर्फ स्नातकोत्तर अध्ययन गरिरहेकी छन्। उनको अहिले अन्तिम सेमेस्टर पढाई चलिरहेको छ । माईली छोरी अनिता सुर्खेतमै कृषि विज्ञानतर्फ आइएस्सीएजी पढ्दैछिन्।
कान्छी छोरी पवित्रा बिबीएस पढ्छिन्। सन्तान मध्येका कान्छा छोरा सन्तोष विज्ञान विषयमा कक्षा १२ मा पढ्दैछन्। उनीहरु चारैजनालाई पढाउन उनको व्यावसायिक कृषि पेशा मुख्य स्रोत बनेको छ। यसका अलावा उनीहरुले बाख्रा र भैंसी पनि पालेका छन्। त्यसबाट पनि थप आम्दानी हुने गरेको छ। उनीहरुले उत्पादन गरेको तरकारी सुर्खेत, छिन्चु र नेपालगन्जसम्म जाने गरेको छ, भने रत्न राजमार्ग भएर यात्रा गर्ने यात्रुलेसमेत किनेर लैजाने गरेका छन्।
भनिन्छ मानिस सफल हुन परिश्रम आवश्यक पर्छ। परिश्रम गर्नेहरु कहिल्यै असफल हुँदैनन् भन्ने उदाहरणीय व्यक्तिमध्येमा मानबहादुर पनि हुन्। रोजगारीका लागि दैनिक विदेशिने युवाहरुका लागि घरमै बसेर कृषि पेशा गर्न सके सुन फलाउन सकिने उनको बुझाई छ । सुरुसुरुमा उनलाई तरकारी खेतीका बारेमा खासै ज्ञान थिएन।
परम्परागतखेती सुरु गरेका वलीको परिवारलाई कृषिसँग सम्बन्धित सरकारी तथा गैरसरकारी निकायबाट साक्षरता सम्बन्धि सहयोग पुगेको उनी बताउँछन्। हर्रेमा सिंचाईको अभावले एक सिजन मात्रै तरकारी खेती हुन्छ। सुरुसुरुमा गाग्रीमा पानी बोकेरै भएपनि तरकारी फलाएको वली सम्झन्छन्। दुख धेरै गर्नुपर्ने भएपनि कृषिबाट सन्तुष्ट भएको सुनाए।
सानो लगानीमा सुरु गरेको उनको व्यवसायिक तरकारी खेती अहिले करोडौंको भईसकेको छ। वलीले करिव १६ हेक्टर जमिनमा तरकारी खेती गर्दै आएका छन्। कृषि विकास निर्देशनालय सुर्खेतले हर्रेलाई तरकारी पकेट क्षेत्र घोषणा गरी तरकारी उत्पादन ब्लक कार्यक्रममार्फत विषादीको न्यूनिकरण गर्दै कृषकलाई आधुनिक र अर्गानिक कृषि उत्पादनतर्फ उन्मुख गराईरहेको छ।
निर्देशनालयले यस क्षेत्रमा उत्पादनका आधारमा विभिन्न सातवटा तरकारी उत्पादन ब्लक क्षेत्र बनाएर करिव एक सय ८३ कृषकहरुलाई आवश्यक प्राविधिक सल्लाहसहित विभिन्न जातका तरकारीका बिउहरु उपलब्ध गराउँदै आएको छ।
कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले गत आर्थिक बर्षमा यस क्षेत्रका किसानलाई सातवटै ब्लकका लागि हाते ट्याक्टर, अटोमेटिक स्प्रे मेसिन, आधुनिक प्लाष्टिक टनेल, तरकारी संकलन क्यारेटलगायतका सामाग्रीहरु वितरण गरेको बताए।
उनका अनुसार जिल्लाभर तरकारी खेतीका लागि सम्भावना बोकेका क्षेत्रमा किसानलाई व्यावसायिक तरकारी खेतीमा लगाउन निर्देशनालयले अरु पनि विभिन्न कार्यक्रम गरिरहेको छ । यस क्षेत्रका किसानले वार्षिक करिव सात करोडको तरकारी निर्यात गर्ने गरेको निर्देशक रोकायको भनाई छ। हाल निर्देशनालयले चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिका, भेरीगंगा नगरपालिका, गुर्भाकोट नगरपालिका र सिम्ता गाउँपालिकामा कृषि सम्बन्धि विभिन्न परियोजना मार्फत काम गरिरहेको छ।
ओम शाही । २०७९ श्रावण ७, शनिबार