कर्णालीमा थपिए भेन्टीलेटर र आइसीयू

सुर्खेत । सामाजिक विकास मन्त्रालयले कर्णालीका १० जिल्लाहरुमा भेन्टीलेटर र आइसीयू थप गरेको छ । यसअघि प्रदेशका जुम्ला, सुर्खेत र दैलेखमा मात्रै रहेका सघन उपचार कक्ष आइसीयू र भेन्टीलेटर बाँकी जिल्लाहरुमा पनि विस्तार गरिएको हो ।


कोरोना भाइरसका संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले आइसीयू र भेन्टीलेटरहरु विस्तार गरेको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार कर्णाली प्रदेश अस्पतालमा २५, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०, दैलेख, हुम्ला र कालीकोटमा पाँच/पाँच, रुकुमपश्चिमको चौरजहारीमा चार तथा मुगु, हुम्ला, सल्यान र रुकुमपश्चिम अस्पतालमा दुई/दुई ओटा सघन उपचार कक्ष आइसीयू विस्तार गरिएको महाशाखाका प्रमुख वृषबहादुर शाहीले जानकारी दिए ।

उनकाअनुसार प्रदेश अस्पतालमा १०, प्रतिष्ठानमा ६, दैलेख, कालीकोट र हुम्लामा दुई/दुई, मुगु, रुकुमपश्चिम, सल्यान र जाजरकोटमा एक/एक ओटा आइसीयू स्थापना गरिएको छ । यसअघि कर्णालीमा ४० अाेटा अाइसीयू र १७ अाेटा भेन्टीलेटर रहेका थिए ।

‘प्रदेशमा कोभीड–१९ का संक्रमितहरु बढ्दै जान थालेपछि मन्त्रालयले तत्काल अस्पतालहरुमा भेन्टीलेटर र आइसीयू स्थापना गरेका हौं’ महाशाखा प्रमुख शाहीले भने, ‘संक्रमित मध्य कसैलाई तत्काल भेन्टीलेटर वा आइसीयूमा राखेर उपचार गर्न सहज होस् भन्ने उदेश्यले तत्काल स्थापना गरिएकाले चाडैँ नै सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौं ।

मेसिन जडान भए, जनशक्ति छैन
मन्त्रालयले लाखौं मुल्य पर्ने भेन्टीलेटर र आइसीयू जिल्ला अस्पतालहरुमा स्थापना गरिसकेको छ । एउटा भेन्टीलेटर र आइसीयूको सरदर मुल्य झण्डै १५ लाख रहेको महाशाखाको भनाई छ । मेसिन सञ्चालन गर्न डाक्टर र स्टार्फ नर्स जनशक्ति चाहिन्छ ।

तर मन्त्रालयले जिल्लामा मेसिन स्थापना गरेपनि सञ्चालन गर्ने जनशक्तिलाई तालिम दिएर पठाउन सकेको छैन् । ‘जिल्लाहरुमा मेसिन जडान भइसकेका छन् चाडै नै सञ्चालनका लागि तयारी अवस्थामा राख्न तालिम दिने व्यवस्था गर्दैछौं’ महाशाखा प्रमुख शाहीले भने, ‘कम्तीमा यहीँ महिनाभित्रै भेन्टीलेटर र आइसीयू सञ्चालन गर्ने जनशक्तिलाई तालिम दिएर जिल्लाहरुमा खटाउने गृहकार्यमा छौं ।’

मन्त्रालय स्रोतकाअनुसार प्रदेश स्वास्थ्य तालिम केन्द्रको अस्तित्व मेटिनेगरी सरकारले मानव संशाधन विकास केन्द्रमा मर्ज गरेपछि अहिले तत्काल जनशक्तिलाई तालिम दिन समस्या भएको छ ।

यसअघि नै स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालले प्रदेश स्वास्थ्य तालिम केन्द्रको पुनस्र्थापना गर्नुपर्ने मागसहित सामाजिक विकास मन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको छ ।

कोभीड–१९ का कारण जिल्लाहरुमा सघन उपचार कक्षको स्थापना गर्ने तर आइसियु र भेन्टिलेटर चलाउन सक्ने तालिम प्राप्त जनशक्तिको अभाव हुनु स्वास्थ्य तालिम केन्द्रको मर्ज नै प्रमुख कारण भएको संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया