अस्ताए जुनिचाँदेका ‘धरोहर’

जाजरकोट । बुधबार विहानै खलंगाबाट जुनिचाँदे गाउँपालिकाको परालेका लागि भे १ ज ९३५ नम्बरको जीप छुट्यो । जीपमा जुनिचाँदेका धरोहर अर्थात् नागरिकका भरोसायोग्य व्यक्तिहरु थिए । गाउँपालिकाको कार्यपालिका बैठक जुनिचाँदे ३, परालेमा सहभागी हुन वडाध्यक्ष र कर्मचारी लागे । भेरी नदीको तिर छेडाबजारबाट उकाले चढे तर गन्तव्य स्थान पराले पुग्न पाएनन् ।

जीपमा सवार ६ जना औँलमै सदाका लागि ओझेलमा परे । २०७४ साल बैशाख ३१ ग्ते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट तीन सय सात मत प्राप्त गरी विजय भएका वडाध्यक्ष शाहीका धेरै चुनावी नाराहरु थिए । वडाध्यक्ष शाहीको एकमात्र सपना वडावासीलाई स्थानीय सरकारको महशुस गराउने र जनताको दुःख र सुखमा सधैँ साथ दिने थियो । जाजरकाेटबाट प्रकाशित भेरीमालिका दैनिकमा समाचार छापिएकाे छ ।

याे पनि पढ्नुहाेस् : जाजरकाेट जीप दुर्घटना : वडाध्यक्षसहित ६ जनाको मृत्यु, एक वेपत्ता

उनीसँगै पूर्व जिल्ला विकास समितिका सदस्य एवम् महेन्द्र माध्यमिक विद्याल कोर्तांगका अध्यक्ष कृतिबहादुर शाहीका सपना खोलामै विलिन भए । जुनिचाँदे–५ मा अवस्थित स्वास्थय चौकी गर्दाकोटमा कार्यरत अहेव खेमराज शाहीको सपना पनि जुनिचाँदेबासीको सेवा गर्नुथियो । नागरिकलाई रोगबाट मुक्ति दिलाउने र मृत्युको मुखबाट बचाउने खेम आफै मृत्युसँग हारे ।

कोरोना नियन्त्रण गर्न रात दिन खटिने उनले नागरिकमा अमिट छाडेका छन् । उनीजस्तै नागरिकको सेवा गर्ने अभिभारा बोकेर सोही स्वास्थ्य चौकीमा कार्यरत अहेव कृष्णबहादुर शाहीले पनि मृत्युलाई नकार्न सकेनन् ।

मटेला घर भई गाउँपालिकाद्वारा सञ्चालित परालेमा लिइएको कृषि जेटिएको परीक्षा दिन हिँडेकी मालिका बस्नेतको सपना पनि दुर्घटनासँगै खोलामै बिलिन भयो । गाउँपालिकामा जागिर खाएर जीवन उज्ज्वल बनाउने उनको अठोट पुरा हुन सकेन ।

जुनीचाँदेका धरोहरहरुको एकैपटक मृत्युको मुखमा पर्दा जुनीचाँदेवासी शोकमा डुबेका छन् । उनीहरुको निधनले सिंगो जाजरकोटलाई नै अतुलनिय क्षति पुगेको छ । मृतकका आफन्तहरु भावविह्वल छन् । दुर्घटनामा जुनिचाँदे ११ का लाल बहादुर बुढा बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

गाडी मजकोट खोलामै खसेकोले बुढा बगेको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनाका एक मात्र जिवित शिक्षक नरबहादुर बुढाको गाउँपालिकाले उद्वार गरी सुर्खेतमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया